
दिपकराज जोशी । नेपाल प्रहरीमा रिक्त हुन लागेको प्रहरी उपरीक्षक (एसपी) दर्जाका ११ दरबन्दीका लागि २१ जना नायब उपरीक्षक (डीएसपी)बीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। सम्भावित निर्वाचनका कारण आचारसंहिता लागू भए बढुवा प्रक्रिया स्वतः स्थगित हुने भएकाले समयमै निर्णय गराउनुपर्ने दबाबले प्रतिस्पर्धा झन् चर्किएको प्रहरी वृत्तको बुझाइ छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राति १० जना प्रहरी उपरीक्षकलाई बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेसँगै संगठनभित्र ठूलो चलायमानता देखिएको हो। उक्त निर्णयलाई सामान्य पदोन्नतिभन्दा पनि प्रहरी संरचनाको माथिल्लो तहदेखि तल्लो तहसम्म प्रभाव पार्ने ‘चेन–रियाक्सन’ का रूपमा हेरिएको छ।

एसएसपीमा बढुवा सिफारिस भएसँगै हाल कार्यरत ११ वटा एसपी पद रिक्त हुने निश्चित भएको छ। ती पद पूर्ति गर्न २१ जना डीएसपीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। प्रहरी संगठनमा यस चरणलाई करिअरको सबैभन्दा संवेदनशील मोड मानिन्छ, जहाँ एक निर्णयले भविष्यको जिम्मेवारी, कार्यक्षेत्र र नेतृत्व अवसर निर्धारण गर्छ।
प्रहरी मानव स्रोत विभागका अनुसार बढुवाका मुख्य आधारमा बरियता, कार्यसम्पादन मूल्याङ्कन, फिल्ड कमाण्ड अनुभव, नेतृत्व क्षमता र व्यावसायिक छविलाई राखिनेछ। तर, विगतका अभ्यासलाई हेर्दा सिनियारिटीभन्दा पहुँच र प्रभाव निर्णायक बन्न सक्ने जोखिम अझै टरेको छैन भन्ने आवाज संगठनभित्रैबाट उठिरहेको छ।
माथिल्लो दर्जाको दरबन्दी सीमित हुँदा तल्लो तहका प्रहरी अधिकृतहरू प्रत्यक्ष मारमा परेका छन्। नेपाल प्रहरीमा २१ डीएसपीको दरबन्दी रिक्त भए पनि प्रतिस्पर्धी संख्या १२४ पुगेको छ। यसले बढुवा सिफारिस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयलाई मापदण्ड र विधि निर्माणमै अप्ठेरोमा पारेको छ।
प्रहरी स्रोतका अनुसार समयमै बढुवा प्रक्रिया अघि नबढे कतिपय अधिकृत सेवा अवधि पूरा गरेर अवकासको नजिक पुगिसकेका छन् भने थुप्रैको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न हुने अवस्था छ। तर, थोरै दरबन्दी र धेरै दावेदारका कारण समस्या झन् जटिल बनेको छ।
डिएसपीको २१ पदका लागी १२८ जना बिच प्रतिस्पर्धा हुदै —
२१ डीएसपी बढुवामा २०६४ सालका एक इन्स्पेक्टर, २०५४ सालको असई व्याचबाट आएका ३ जना तथा २०७२ सालको इन्स्पेक्टर व्याचका १२४ जनामध्येबाट बढुवा सिफारिस गर्नुपर्ने दबाब प्रहरी प्रधान कार्यालयमाथि छ।
नेपाल प्रहरीले २०७२ सालमा लिएको इन्स्पेक्टर भर्नामा १२६ जना उत्तीर्ण भई सेवा प्रवेश गरेका थिए। तीमध्ये एकजनाले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका र अर्का एकले जागिर छाडेपछि हाल उक्त व्याचका १२४ जना सेवामा छन्। सो भर्नामा पहिलो नम्बरमा इन्स्पेक्टर नारायण थापा थिए। यद्यपि, बढुवामा भर्नाकै वरियता कायम हुनुपर्छ भन्ने ऐन र नियमावलीमा स्पष्ट व्यवस्था छैन।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार २०६४ सालमा इन्स्पेक्टर भर्ना भएका चन्द्रबहादुर थापा बढुवाको पहिलो प्राथमिकतामा छन्। त्यसपछि २०५४ सालको असईबाट २०७१ मा इन्स्पेक्टर बनेका धनराज मुडबरी, प्रविण जोशी, ढुण्डीराज गिरी र गौतम बोहोरा प्राथमिकतामा रहेका छन्। तीमध्ये ढुण्डीराज गिरी फागुनमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकासमा जाने तयारीमा छन्।
यी अघिल्लो व्याचका ४ जनापछि मात्रै २०७२ सालमा भर्ना भएको इन्स्पेक्टर टोलीलाई अवसर मिल्ने देखिएको छ। त्यसैले १२४ जनाको टोलीबाट १७ जनामा पर्ने प्रतिस्पर्धा सुरु भएको हो। प्रहरी बढुवामा कार्यसम्पादन मूल्याङ्कनलाई मुख्य आधार बनाइने भएकाले भर्ना वरियता तलमाथि पर्न सक्ने प्रहरी स्रोतको भनाइ छ।



