
रक्तदान कार्यक्रमबाट ‘ट्राफिक सप्ताह–२०८२’ को सुरुवात
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पुस २६ गतेदेखि माघ ३ गतेसम्म “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२” सञ्चालन गर्ने भएको छ।

एक सातासम्म चल्ने अभियानमार्फत सवारी दुर्घटनाका कारण, प्रभाव र समाधानका उपायबारे जनचेतना फैलाउने लक्ष्य लिइएको ट्राफिक प्रहरीले जनाएको छ। सवारी साधनको चाप, सीमित सडक पूर्वाधार, चालकको लापरवाही, ट्राफिक नियम उल्लङ्घन, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले उपत्यकामा दुर्घटनाको जोखिम बढ्दै गएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अभियानबारे जानकारी दिँदै अभियान नियम कार्यान्वयनसँगै सचेतना र व्यवहार परिवर्तनमा केन्द्रित रहने बताए।
अभियानको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिनेछ। दुर्घटनाका घाइतेहरूको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदानबाट अभियानको सुरुवात गरिएको सुवेदीले बताए।
अभियान अवधिभर ट्राफिक एफएम, सामाजिक सञ्जाल, दूरसञ्चार कम्पनीका रिङ ब्याक टोन तथा उपत्यकाका डिजिटल बोर्डमार्फत ट्राफिक सचेतनामूलक सन्देश प्रसारण गरिनेछ। साथै कलाकारको सहभागितामा पर्चा वितरणलगायत कार्यक्रम पनि सञ्चालन गरिनेछन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताह–२०८२ को उद्देश्य नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि र सवारी दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्नु रहेको बताए।
ट्राफिक प्रहरीले सुरक्षित सडक सबैको साझा जिम्मेवारी भएको भन्दै हेलमेट र सिट बेल्ट प्रयोग, गति सीमा पालना, मापसे नगर्ने र ट्राफिक संकेतको सम्मान गर्न सबै नागरिकलाई आग्रह गरेको छ।
सडक सबैका लागि सुरक्षित बनाउन आजैबाट नियम पालना गर्ने संकल्प नै ट्राफिक सप्ताह–२०८२ को मूल सन्देश हो।



