सुरक्षा सरोकार । प्रहरी नेतृत्व सम्हालेको दुई दिनमै एआईजी र ९ दिनभित्रै डीआईजी बढुवा गरेर ‘बरियता पालना’को स्पष्ट सन्देश दिएका आईजीपी दानबहादुर कार्की यतिबेला आफ्नै संगठनभित्र उठेको फरक प्रश्नको केन्द्रमा छन्—प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया किन रोकिएको छ?

यसअघि कात्तिक १७ गते तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको कार्यकालमा पाँच एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा पहिलो वरियताका अधिकारी छुटाइएपछि नेतृत्वमाथि ‘सेटिङ’को आरोप लागेको थियो। त्यसको ठीक ९ दिनपछि, कात्तिक २६ मा कार्कीले आईजीपीको कमाण्ड सम्हालेका हुन्।

कमाण्ड सम्हालेकै दुई दिनभित्र रिक्त एआईजीमा ईश्वर कार्की र मंसिर १ गते डीआईजीमा विश्व अधिकारीलाई बढुवा गरेर कार्कीले संगठनभित्र सकारात्मक सन्देश दिएका थिए। तर मंसिर २ गतेदेखि सात वटा एसएसपी दरबन्दी रिक्त हुँदासमेत डेढ महिनासम्म बढुवा सूची नआउँदा प्रहरी प्रधान कार्यालयभित्र विभिन्न शक्तिकेन्द्रको दबाब प्रमुख कारण हुनसक्ने चर्चा चुलिएको छ।

करिव २ दर्जन प्रतिस्पर्धी, ७ रिक्त पद

हाल रिक्त सात एसएसपी पदका लागि १७ जना एसपीबीच कडा प्रतिस्पर्धा छ। तीमध्ये ३ जना विभागीय र १४ जना खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका अधिकृत हुन्।

बढुवा वरियतामा पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी छन्। शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका हुन् भने तिवारी २०५५ सालमा असईबाट सेवा प्रवेश गरेका अधिकृत हुन्।

बाँकी १४ जना २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका हुन्। यही ब्याचका २५ सिनियर अधिकारीहरू यसअघि नै एसएसपी भइसकेका छन्। सोही ब्याचबाट काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा पहिलो नम्बरमा बढुवा भएका थिए।

को–को छन् शीर्ष दाबेदार

हाल रिक्त एसएसपीका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल छन्। इन्स्पेक्टर भर्नामा ‘अलराउण्ड टप’ मानिने कँडेल एसपी बढुवादेखि नै पछि परेका थिए। हाल उनी कपनस्थित केन्द्रीय विशेष कार्यदलका प्रमुख छन्।

चौथो नम्बरमा एसपी सुरेश काफ्ले छन्। संयुक्त राष्ट्रसंघको मिसनमा लामो समय काम गरेका काफ्ले हाल सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रमुख हुन्। संगठनभित्र उनलाई इमान्दार अधिकृतका रूपमा चिनिन्छ।

पाँचौं नम्बरमा अमरेन्द्रबहादुर सिंह छन्। एसपी भएपछि लामो समय युएन मिसनमा खटिएका सिंहले हालसम्म जिल्ला कमाण्ड भने सम्हालेका छैनन्। छैटौं नम्बरमा श्यामसिंह चौधरी छन्, जसलाई प्रविधि परिचालन र जोखिमपूर्ण कार्यमा अब्बल मानिन्छ।

रिक्त पदहरू पूर्ति गर्न करिब दुई दर्जन एसएसपी अधिकारी प्रतिस्पर्धामा छन्। तीमध्ये भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट, वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना र अन्य केही अधिकारी प्रमुख प्रतिस्पर्धीको रूपमा देखिएका छन्।

विवाद, योगदान र मूल्याङ्कन

भदौ २४ मा भएको प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले प्रहरी प्रधान कार्यालय प्रवेश गर्न खोज्दा नवौं नम्बरमा रहेका सुवासचन्द्र बोहरा नेतृत्वको टिमले प्रधान कार्यालय जोगाएको थियो। त्यसबेला बोहरा नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ का इन्चार्ज थिए। हाल उनी मकवानपुर प्रहरी प्रमुख छन्।

रौतहट जिल्लाको सफल कमाण्ड सम्हालेका पन्ध्रौं नम्बरका एसपी दिलिप घिमिरे भने संगठनभित्र काबिल र सक्षम कमाण्डरका रूपमा चिनिन्छन्। त्यस्तै पोखरेल, बिष्ट, खतिवडा, केसी, थापा, श्रेष्ठ र शाहीलाई पनि व्यावसायिक प्रहरी अधिकृतका रूपमा लिइन्छ।

चुनावी दबाब र आईजीपीको चुनौती

सरुवा–बढुवाको समय निर्वाचन आयोगको आचारसंहिता लागू हुन नजिकिँदै जाँदा प्रहरी नेतृत्वमाथि दबाब अझ बढ्ने देखिन्छ। फागुन २१ मा सरकारले निर्वाचन मिति घोषणा गरिसकेकाले, चुनावअघि नै एसएसपी बढुवा निकालेर संगठनलाई चुस्त बनाउनुपर्ने बाध्यता आईजीपी कार्कीमाथि छ।

यदि बढुवा प्रक्रिया चुनावपछि धकेलियो भने १७ जना एसपीबाट चर्को दबाब झेल्नुपर्ने प्रहरी उच्च स्रोत बताउँछ। बरियता, कार्यक्षमता र संस्थागत विश्वसनीयताको सन्तुलन मिलाएर निर्णय लिनु आईजीपी कार्कीका लागि यो सबैभन्दा ठूलो परीक्षा बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय