विराटनगर ।  विराटनगरमा रहेको नेपाल प्रहरीको तालिम केन्द्रले करिब ६ दशकको अवधिमा ८४ हजारभन्दा बढी प्रहरी जनशक्ति उत्पादन गरेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्रले स्थापना भएको ५९ वर्षको अवधिमा कुल ८४ हजार २ सय ७ जना प्रहरी जनशक्ति उत्पादन गरेको हो।

२०२३ सालमा सुनसरीको धरानमा स्थापना भएको उक्त तालिम केन्द्रलाई २०३३ सालमा धरानबाट विराटनगरको सीमावर्ती क्षेत्र रानीमा स्थानान्तरण गरिएको थियो। तालिम केन्द्रका प्रवक्ता डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार हालसम्म ८४ हजार २ सय ७ जनाले विराटनगरस्थित तालिम केन्द्रबाट प्रशिक्षण लिइसकेका छन्।

विराटनगरको तालिम केन्द्रले प्रहरी जवानको आधारभूत तालिम तथा प्रहरी सहायक निरीक्षकको अल्पकालीन तालिम सञ्चालन गर्दै आएको छ। साथै, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका लागि सेवाकालीन तालिमहरू पनि नियमित रूपमा सञ्चालन गरिँदै आएको छ।

आइतबार तालिम केन्द्रले आफ्नो ५९ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा तालिम केन्द्रले स्वास्थ्य शिविर तथा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमहरू आयोजना गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय