सुरक्षा सरोकार । सुरक्षाको संवेदनशील क्षेत्र मानिने ‘निजी सुरक्षा अधिकारी (PSO)’ व्यवस्थालाई अझ सक्षम, द्रुत र विश्वसनीय बनाउन नेपाल प्रहरी अंगरक्षक गणले पछिल्ला महिनामा अनेक महत्वपूर्ण संरचनागत तथा कार्यगत सुधारहरू अघि बढाएको छ। गणले सुरक्षा तयारी, जनशक्ति व्यवस्थापनदेखि सीप अभिवृद्धिसम्मका क्षेत्रमा देखाएको सक्रियताले PSO सुरक्षा व्यवस्थालाई आधुनिक, परिणाममुखी र अन्तर्राष्ट्रियस्तरको अभ्यासअनुरूप बनाउने दिशा स्पष्ट भएको छ।

नेपाल प्रहरीमा अत्यन्तै बौद्धिक र काबिल अधिकृतका रूपमा चिनिने एसपी भुवनेश्वर तिवारीको नेतृत्वमा रहेको नेपाल प्रहरी अंगरक्षक गणले पछिल्ला दिनहरूमा उल्लेख्य कामहरू गरेको छ। तीमध्ये केही प्रमुख कार्यहरू यसप्रकार छन्:

. भावी रोडम्यापसहित गणको विस्तृत प्रोफाइल तयार

अंगरक्षक गणको इतिहास, वर्तमान संरचना, कामको दायरादेखि लेकर आगामी वर्षहरूमा आवश्यक हुने सुधारका खाका समेटिएको विस्तृत प्रोफाइल तयार गरिएको छ। यसले गणको रणनीतिक दिशा र दीर्घकालीन सुधारका प्राथमिकताहरू स्पष्ट बनाएको छ।

२. जनशक्तिलाई विशिष्टीकृत (Specialized) गुल्महरूमा पुनर्संरचना

गणमा कार्यरत जनशक्तिलाई कार्यगत आवश्यकता र विशेषज्ञताका आधारमा विशेषीकृतगुल्महरू मा विभाजन गरिएको छ। यसले संवेदनशील सुरक्षा जिम्मेवारीलाई अझ द्रुत, प्रभावकारी र व्यवस्थित बनाएको छ।

३. VIP सुरक्षा सम्बन्धी १६ विषयमा नियमित आन्तरिक कक्षा सञ्चालन

उच्च पदस्थ व्यक्तिहरूको सुरक्षा व्यवस्थामा संलग्न प्रहरीहरूलाई अद्यावधिक र व्यावहारिक ज्ञान दिलाउन, हप्तामा दुईपटक गरी VIP Security सम्बन्धी १६ वटा विषयमा आन्तरिक कक्षा सञ्चालन भइरहेको छ। यसले PSO हरुको व्यावसायिकता, आत्मविश्वास र निर्णय क्षमतामा प्रत्यक्ष वृद्धि गरेको छ।

४. पाठ्यक्रम निर्माण र वार्षिक २-दिने अनिवार्य प्रशिक्षण तथा सिमुलेटर फायरिङ

PSO हरुको दक्षता बढाउन आवश्यक विशेष पाठ्यक्रम तयार गरी पारित गराइएको छ। सोही आधारमा सबै PSO ले वार्षिक २ दिन अनिवार्य प्रशिक्षण प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

साथै, नजिकबाट लक्ष्य पहिचान, प्रतिक्रिया र जोखिम व्यवस्थापन कौशल अभिवृद्धिका लागि सिमुलेटर फायरिङ अभ्यास पनि अनिवार्य गरिएको छ।

५. PSO Handbook तयार, स्वीकृति प्रक्रियामा

PSO ले दैनिक काममा पालना गर्नुपर्ने कार्यविधि, मर्यादा, प्रतिक्रिया–प्रोटोकल, जोखिम मूल्यांकन पद्धति तथा संचार प्रक्रियालाई समेटेर ‘PSO Handbook’ तयार गरिएको छ, जुन हाल स्वीकृतिका लागि प्रक्रियामा छ। Handbook लागू भएपछि PSO नेतृत्व तथा कार्यदक्षता अझ स्पष्ट र एकरूप बन्ने अपेक्षा गरिएको छ।

६. कार्ययोजना कार्यान्वयनका लागि तीव्र समन्वय र प्रगतिशील काम

गणको प्रोफाइलमा समावेश कार्ययोजनाहरूलाई मूर्तरूप दिन विभिन्न इकाइहरूसँग समन्वय तीव्र बनाइएको छ। संरचनागत सुधार, तालिम व्यवस्थापन, प्रविधिको उपयोग, जनशक्ति व्यवस्थापन र आन्तरिक प्रशासन सबै क्षेत्रमा काम तीव्र गतिमा अघि बढिरहेको गणले जनाएको छ।

सुरक्षा व्यवस्थालाई आधुनिक बनाउने दिगो अभ्यास

यी सुधारगत प्रयासहरूले अंगरक्षक गणलाई व्यवस्थित, पारदर्शी, दक्ष र उत्तरदायी सुरक्षा संयन्त्रका रूपमा रूपान्तरण गर्ने स्पष्ट संकेत दिएको छ। उच्च व्यक्तिहरूको सुरक्षा जति संवेदनशील र चुनौतीपूर्ण हुन्छ, त्यसलाई ध्यानमा राख्दै गणले पछिल्ला महिना गरेको पहल नेपाल प्रहरीको सुरक्षा व्यवस्थालाई आधुनिक युगको आवश्यकतासँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय