काठमाण्डौं— पछिल्ला दिनमा अनलाइनमार्फत हुने ठगीका घटना तीव्र रूपमा बढेको भन्दै नेपाल प्रहरीले सात बुँदे सावधानी निर्देश जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई विभिन्न प्रकारका अनलाइन प्रलोभन र छलकपटबाट सचेत रहन आग्रह गरेको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, दैनिकजसो नागरिक सामाजिक सञ्जालमार्फत प्रलोभनमा परी ठगीमा परिरहेका घटनाले मन्त्रालयलाई सतर्क बनाएको छ। फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्टाग्रामजस्ता माध्यमबाट “चिठ्ठा पर्‍यो, रकम प्राप्त गर्न राजस्व तिर्नुहोस्” भन्दै अग्रिम भुक्तानी मागेर ठगी गर्ने क्रम बढिरहेकाले सचेत रहन अनुरोध गरिएको छ।

सार्वजनिक सूचनामा अनलाइनमार्फत सामान किन्नेबेलासमेत आधिकारिक बिक्रेता यकिन गरी मात्र रकम भुक्तानी गर्न र नगद कारोबारमा पनि विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रवक्ता भट्टराईले भने, “अपरिचित नम्बरबाट भिडियो कल गरी त्यसलाई रेकर्ड गरेर अश्लिल बनाइ ब्ल्याकमेल गर्ने जोखिम बढेकाले अत्यधिक सावधान रहनु आवश्यक छ।”

त्यसैगरी साथी वा आफन्तका सामाजिक सञ्जाल खाताबाट आर्थिक सहयोग मागिँदा प्रत्यक्ष सम्पर्क गरी यकिन गर्न आग्रह गरिएको छ, किनकि खाता ‘ह्याक’ भई यस्तो माग आएको हुन सक्छ।

सस्तो दरमा सामान देखाएर अग्रिम रकम पठाउन लगाई ठगी गर्ने घटनाप्रति पनि प्रहरी सचेत रहन अनुरोध गर्छ।

अन्त्यमा प्रहरीले निम्न कुरामा विशेष ध्यान दिन आग्रह गरेको छ—

  • अपरिचित वा नयाँ सामाजिक सञ्जालका लिङ्क नखोल्ने
  • आफ्ना ओटिपी कोड कसैलाई नदिन
  • मोबाइलको स्क्रिन शेयर नगर्न
  • सामाजिक सञ्जालमा संवेदनशील विवरण नराख्न
  • आफ्नो पासवर्ड तथा निजी जानकारी कसैलाई पनि नदिन

प्रहरीका अनुसार, सचेत रहनु नै अनलाइन ठगीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय