काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएसँगै सामाजिक सुरक्षा क्षेत्रमा थप चुनौती उत्पन्न भएको बताएका छन्।

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल दुरुपयोगसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या उक्साहट, मानव बेचबिखन, आर्थिक अपराध तथा अन्तरदेशीय चरित्रका जटिल तथा संगठित अपराधहरू तीब्र गतिमा बढिरहेको उल्लेख गरे।

यसका लागि क्षमता विकास, प्राविधिक सीप, विशेषज्ञ तालिम तथा आधुनिक अनुसन्धान प्रविधिको आवश्यकता अत्यावश्यक रहेको उनले बताए।

आईजीपी कार्कीले फरार प्रतिवादीको खोजतलास, फैसला कार्यान्वयन, र पेन्डिङ फाइलहरूलाई प्राथमिकतामा राखी तत्काल नतिजा देखिने प्रकारले काम गर्न निर्देशन दिए। उनले विगतका अपराध, लामो समयदेखि रोकिएका अनुसन्धान फाइलहरूलाई समेत प्रभावकारी रूपमा अघि बढाउन प्रहरी निकायलाई आदेश दिए।

नवनियुक्त आईजीपी कार्कीले निष्पक्ष, प्रमाणमुखी र वैज्ञानिक अनुसन्धानमार्फत अपराधीलाई कानुनी दायरामा ल्याउने प्रणालीले मात्र प्रहरीप्रतिको जनविश्वास बलियो हुने बताए। उनका अनुसार पीडितलाई न्याय दिलाउनु नै प्रहरीको प्रतिष्ठा र जनसमर्थन प्राप्त गर्ने मुख्य आधार हो।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले वर्तमान अपराध अवस्थासँग सम्बन्धित चुनौती, सुधारका उपाय र विभागका प्राथमिकताबारे धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय