काठमाडौँ । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको अनुगमन गरेका छन्। भाद्र २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा उत्तेजित प्रदर्शनकारीहरूले बग्गीखानास्थित ट्राफिक कार्यालयमा व्यापक तोडफोड र आगजनी गरेका थिए। उक्त घटनापछि मन्त्री अर्यालले दोस्रोपटक कार्यालयमै पुगेर निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री अर्यालले घटना–पछिल्लो अवस्थाका पुनर्निर्माण कार्य, सेवा प्रवाह र कार्यालयको समग्र कामकारबाहीको प्रत्यक्ष जानकारी लिए। उनले कार्यालयमा कार्यरत अधिकृत तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ नियमित भूमिका निर्वाह गर्न निर्देशन दिए।

कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी, एसपी नरेश सुवेदीलगायत अन्य ट्राफिक अधिकृत तथा कर्मचारीसँग संवाद गर्दै मन्त्री अर्यालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण रहेको बताउँदै, यस्ता संवेदनशील अवस्थाहरूमा पनि समर्पित रूपमा खटिने प्रहरी जवानहरूको प्रशंसा गरे।

उनका अनुसार, उपत्यकामा हुने दैनिकी व्यवस्थापन, जाम नियन्त्रण, दुर्घटना न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनमा ट्राफिक प्रहरीले देखाएको अनुशासन, व्यावसायिकता र सक्रियताले नागरिकलाई प्रत्यक्ष राहत मिलिरहेको छ। उनले थपे, “ट्राफिक व्यवस्था सुचारु राख्न रात–दिन खटिनुपर्ने बाध्यता छ। यस्तो महत्वपूर्ण सेवामा तपाईँहरूले देखाएको समर्पण प्रशंसनीय छ। सरकार आवश्यक सहयोगका लागि प्रतिबद्ध छ।”

अनुगमनका क्रममा मन्त्री अर्यालले भौतिक संरचना मर्मत, उपकरण अभाव, जनशक्ति व्यवस्थापन तथा सेवाप्रवाह डिजिटलाइजेशनजस्ता विषयमा सम्बन्धित अधिकृतहरूसँग छलफलसमेत गरेका थिए।

बग्गीखाना ट्राफिक कार्यालय हाल उपत्यकाको दैनिक ट्राफिक व्यवस्थापन, निगरानी तथा दुर्घटना नियन्त्रणका प्रमुख केन्द्रहरूमध्ये एकका रूपमा परिचित छ। हालैको आगजनी घटनापछि कार्यालयले उल्लेखनीय रूपमा सेवा निरन्तरता कायम राखेको भन्दै मन्त्री अर्यालले उनको टोलीलाई धन्यवाद तथा शुभकामना समेत दिएका छन्।

मन्त्रीको आजको अनुगमनले बग्गीखाना कार्यालयमा पुनर्निर्माण र मनोबल वृद्धिका कार्यहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय