काठमाडौं — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हालेका छन्।

अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङले ३० वर्षे सेवा अवधि पूरा गर्दै २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाश लिएपछि सरकारको निर्णयअनुसार कार्कीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गरिएको हो।

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो। उनले आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न (इन्सिग्निया) लगाएपछि प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

कार्कीले यसअघि २४ भदौको जेनजी आन्दोलनका संवेदनशील क्षणमा उपत्यका प्रहरी कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागका प्रमुख थिए।

डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड र एसएसपीका रूपमा काठमाडौँ जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए। त्यही कार्यकालमा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेको थियो।

संगठनभित्र कार्की इमानदार, व्यवस्थित र पेशागत अधिकारीका रूपमा चिनिन्छन्। उनी कुनै ठूलो आर्थिक वा अन्य विवादमा तानिएका छैनन्।

फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्म जिम्मेवारी सम्हालिसकेका कार्की विदेशी तालिम प्राप्त अधिकारी हुन् र केही समय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पनि रहिसकेका छन्।

उनको नेतृत्वमा अब नेपाल प्रहरीले सुरक्षा, अपराध नियन्त्रण र सुधारका आगामी चुनौतीहरू कसरी सामना गर्छ भन्ने विषयमा चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय