
सिन्धुली — सिन्धुलीबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे, काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय गाडी चालक आदिल हमिद, सोही स्थानकी २१ वर्षीय आमी अमिद, र रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन रहेका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २:१० बजेको समयमा मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको कारलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ स्थित झनझने चेकपोस्टमा नियमित जाँचका क्रममा रोकिएको थियो। सो क्रममा गाडीको पछाडिको टायरभित्र लुकाइएको अवस्थामा १५ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूसँग प्रहरीले रकमको स्रोतबारे सोधपुछ सुरु गरेको र बैंकिङ कारोबारका विवरण तथा अन्य सम्बन्धित कागजात माग गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।



