
सुरक्षा सरोकार । नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा मंगलबार एक विशेष समारोहका बीच बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ। प्रहरी संगठनका उच्च अधिकारीदेखि लेकर तल्लो तहका प्रहरी कर्मचारीसम्म सबैले उहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूका अनुहारमा उत्साह, गर्व र आत्मविश्वास झल्किएको देखिन्थ्यो। कार्यालयका डीआईजीपी, एसएसपी, एसपी, इन्स्पेक्टर, हवल्दार र जवानहरू सबैले पालैपालो नयाँ प्रहरी प्रमुख कार्कीलाई फूलमाला र खादा अर्पण गर्दै स्वागत गरेका थिए। कार्कीले पनि प्रत्येक प्रहरी कर्मचारीसँग हात मिलाउँदै आभार प्रकट गरेका थिए।

“आईजी सापले आफ्नै हामीसँग हात मिलाउनुभयो, यो हाम्रो लागि गर्वको क्षण हो,” एक जना प्रहरी जवानले भावुक हुँदै भने, “यस्तो व्यवहारले हामी सबैको मनोबल थप उच्च भएको छ।”
नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ साल कार्तिक २४ गतेको बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षकका रूपमा नियुक्त गरेको हो। यो निर्णय २०८२/०७/२७ गतेबाट लागू भएको हो। यसअघि उहाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी)का रूपमा कार्यरत रहनु भएको थियो।
लगभग तीन वर्षको कार्यकालका लागि जिम्मेवारी सम्हाल्नुभएका आईजीपी कार्कीले प्रहरी संगठनलाई पारदर्शी, सक्षम र जनमैत्री बनाउने लक्ष्य लिएको बताउनुभएको छ। स्वागत कार्यक्रममा उहाँले सम्बोधन गर्दै भन्नुभयो, “प्रहरी जनताको सेवक हो, हाम्रो सबै काम जनताको सुरक्षाको लागि समर्पित हुनेछ। संगठनभित्र शुशासन, अनुशासन र उत्तरदायित्व मेरो पहिलो प्राथमिकता हुनेछ।”
उहाँले प्रहरी कर्मचारीहरूलाई हौसला दिँदै थप गर्नुभयो, “म तपाईँहरू सबैको सहयोग बिना संगठन अघि बढ्न सक्दैन। सबै तहका प्रहरी कर्मचारी हाम्रो अभिन्न अंग हुनुहुन्छ, त्यसैले एकजुट भएर काम गरौं, जनतामाझ नेपाल प्रहरीको छवि अझ उज्वल बनाऔं।”
कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूले पनि आईजीपी कार्कीको सरल स्वभाव, इमानदारी र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँको कार्यकालमा संगठन अझ सुदृढ र जनमुखी बन्ने विश्वास व्यक्त गरेका थिए।
यसरी रानीपोखरीस्थित प्रहरी कार्यालयमा भएको स्वागत समारोहले प्रहरी संगठनभित्र नयाँ उत्साह, ऊर्जा र प्रतिबद्धताको सन्देश दिएको छ। प्रहरी जवानदेखि वरिष्ठ अधिकृतसम्म सबैमा एकै भावना गुञ्जिएको थियो — “नयाँ आईजीपीको नेतृत्वमा प्रहरी अझ सक्षम र जनतामैत्री बन्नेछ।”



