दिपक राज जोशी — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ सेवा अवधिका कारण कार्तिक २७ गते अवकाशमा जाँदै छन्। ३० वर्षे सेवा अवधि पूरा भएपछि उनी आगामी बुधबारदेखि अवकाशमा जाने भएका हुन्।

यसै भदौमा १९ गते ३२औं प्रहरी प्रमुखका रूपमा नियुक्त भएका खापुङको अवकाशसँगै सरकार भावी आईजीपी चयन प्रक्रियामा जुटेको छ। नयाँ आईजीपीका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)बीच प्रतिस्पर्धा हुनेछ। ती हुन्—काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्की, प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख मनोज केसी र प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सिद्धिविक्रम शाह।

चार एआईजीमध्ये कार्की, अधिकारी र केसीले चैत २०५४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। तिनीहरू गत १५ वैशाखमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए। त्यसबेला हालका महानिरीक्षक खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मासँगै कार्की, अधिकारी र केसी पनि बढुवा भएका थिए।

आईजीपी खापुङ बुधबारदेखि अवकाशमा जाँदै छन् भने अरू दुई एआईजी आचार्य र शर्मा यसअघि नै अवकाशमा गइसकेका छन्।

सिद्धिविक्रम शाह भने गत १५ जेठमा एआईजीमा बढुवा भएका हुन्। उनले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरी पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए।

आईजीपी चयनमा एआईजी कार्की बलिया दाबेदार

बरियता, कार्यसम्पादन र निर्णय क्षमतामा अग्रस्थानमा रहेका एआईजी दानबहादुर कार्की योग्य, व्यावसायिक र अनुशासित नेतृत्वका रूपमा हेरिन्छन्। पछिल्ला तीन आईजीपी नियुक्तिमा यही मापदण्ड निर्णायक बनेको हुँदा उनको सम्भावना बलियो मानिएको छ।

तीन दशकको सेवायात्रामा कार्कीले संगठनात्मक दक्षता, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिएका छन्। काठमाडौं, लुम्बिनी र अन्य स्थानमा उनी नेतृत्व भूमिकामा रहँदा शान्ति–सुरक्षा, अपराध नियन्त्रण र जनसहभागितामा उल्लेखनीय सफलता हासिल भएको थियो।

प्रहरीभित्र मनोबल अभिवृद्धि, प्रशिक्षण सुधार र विश्वास निर्माणमा उनले प्रभावशाली भूमिका खेलेका छन्। विश्लेषकहरूका अनुसार कार्कीमाथिका आलोचना भन्दा बढी संस्थागत मूल्यप्रति आक्रमण हुन्।

उनी प्रहरी निरीक्षक को बेसिक तालिम देखि एआइजिपी हुदा सम्म आफ्नो ब्याजमा एक नम्बरमा रहदै आएका छ्न।

आईजीपी प्रतिस्पर्धामा एआईजी राजन अधिकारी दोस्रो दाबेदार —

बरियतामा दोस्रो नम्बरमा रहेका एआईजी राजन अधिकारीले आफूलाई सक्षम र योग्य नेतृत्वका रूपमा स्थापित गर्न सक्रिय प्रयास गरिरहेका छन्। बौद्धिक, शालिन र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा परिचित अधिकारीले कानुनमा स्नातकोत्तर गर्दै पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल प्राप्त गरेका हुन्।

२०५४ सालमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका उनले विभिन्न जिम्मेवारीमा उत्कृष्ट कार्यसम्पादन गर्दै २०८२ सालमा एआईजी बने। रुकुम, सुनसरी, सिन्धुपाल्चोकदेखि विराटनगर र नक्सालसम्मका भूमिकामा उनले अपराध नियन्त्रण, जनसहभागिता र प्रविधिमैत्री अनुसन्धान प्रणालीलाई सुदृढ गरेका छन्।

हाल मानवश्रोत विकास विभागका प्रमुख रहेका अधिकारी इमानदार, व्यावसायिक र जनमैत्री प्रहरी नेतृत्वका रूपमा परिचित छन्। प्रहरी संगठनभित्र उनी आईजीपी बन्ने सम्भावना बलियो रहेको चर्चा छ।

आईजीपीका तेस्रो  दाबेदार एआईजी डा. मनोज केसी—

भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्रीलाई नबुझाई पूर्वमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरी चर्चामा आएका एआईजी डा. मनोज केसी हाल आईजीपीका बलिया दाबेदार मानिन्छन्। निडर, व्यावसायिक र परिणाममुखी अनुसन्धानकर्ताका रूपमा परिचित केसीले सीआईबी प्रमुखका रूपमा ठूला आर्थिक अपराध, सुन तस्करी र ठगी प्रकरणमा प्रभावकारी नेतृत्व दिएका छन्।

उनको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले राजनीतिक संरक्षण प्राप्त अपराधीहरूलाई कानुनी दायरामा ल्यायो। प्रविधि–आधारित अनुसन्धान र सम्पत्ति शुद्धीकरणविरुद्धको कडाइका कारण उनी अनुसन्धान क्षेत्रका प्राविधिक विशेषज्ञ मानिन्छन्।

‘शून्य सहनशीलता’को नीतिमा विश्वास गर्ने केसीले संगठनलाई राजनीतिक प्रभावमुक्त, पारदर्शी र परिणाममुखी बनाउने दृष्टि राख्छन्। प्रहरीभित्र र बाहिर दुवै तहमा उनी साहसी, स्वच्छ र सक्षम नेतृत्वका रूपमा आईजीपीका प्रमुख उम्मेदवार बनेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार भावी प्रहरी महानिरीक्षकको चयनबारे निर्णय आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय