
काठमाडौं, मंसिर २३ — काठमाडौं महानगरपालिका–१२, टेकु हुमगास्थित गल्लीबाट कालिमाटी प्रहरी वृत्तको टोलीले Made in USA लेखिएको रिभलभर र लागुऔषधसहित दुई जनालाई पक्राउ गर्न सफल भएको छ।
मंसिर १९ गते साँझ करिब ६:०० बजे कालिमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखेपछि गरेको चेकजाँचमा सुजन श्रेष्ठ (२० वर्ष) र अमर साहनी (१९ वर्ष) पक्राउ परेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबाट Made in USA लेखिएको रिभलभर, लागुऔषध ‘सुपर ट्याब’ २१ ग्राम, ‘पोल्याइन’ २.१ ग्राम र नगद रु. ३२,००० बरामद गरिएको प्रहरीले जनाएको छ।
यो सफल अभियान कालिमाटी वृत्तका इन्चार्ज डीएसपी मधु कुमार थापाको सक्रिय नेतृत्व र निर्देशनमा सम्पन्न भएको हो। डीएसपी थापा साहसी, अनुशासित र जिम्मेवार प्रहरी अधिकृतका रूपमा चिनिन्छन्, जसले चुनौतीपूर्ण अवस्थामासमेत मातहत प्रहरीको मनोबल उच्च राख्दै कानुन कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।
हालैको GenZ आन्दोलनका क्रममा मंसिर २३ गते घाइते भएका डीएसपी थापाले त्यसको भोलिपल्ट अर्थात् मंसिर २४ गते पनि पूर्ण जिम्मेवारीसहित प्रहरी बल र हतियारको सुरक्षा सुनिश्चित गर्न सफल भएका थिए। उनको यो समर्पण, कर्तव्यनिष्ठा र राष्ट्रसेवाप्रतिको प्रतिबद्धताको प्रहरी संगठनभित्र र बाहिर प्रशंसा भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टाराईका अनुसार, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।



