काठमाडौँ — रक्षा बम नेतृत्वको नेपाल जेन-जी फ्रन्टले जेन-जी विद्रोहसँग जोडिएका सबैलाई एकीकृत गर्ने र विद्रोहलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित केन्द्रीय विभागीय सदस्यहरू तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको घोषणा गरेको छ।

हिजो बसेको फ्रन्टको संघीय संयोजन समितिको अनलाइन बैठकले रितु खड्कालाई जनसम्पर्क समिति, अमृता बनलाई अभियान समिति र संविधान प्रसाईलाई सूचना प्रविधि समितिको सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यस्तै, प्रदेशस्तरमा संगठन विस्तारका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकिएको छ।

फ्रन्टका अनुसार—

  • प्रदेश नं. १ मा रोहन दंगाल,
  • मधेश प्रदेशमा मो. नजरे आलम,
  • बागमती प्रदेशमा सचिन चापागाईं,
  • गण्डकी प्रदेशमा साबिज मिया,
  • लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने,
  • कर्णाली प्रदेशमा बिनिता बोगटी र
  • सुदूरपश्चिम प्रदेशमा नवीन बिष्टलाई सम्पर्क व्यक्ति तोकिएको छ।

फ्रन्टले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,

“भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरुद्धमा तथा सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ–संस्था र शुभेच्छुक नेपाली नागरिकलाई संगठित र एकताबद्ध गराउने योजनाका साथ फ्रन्ट काम गरिरहेको छ।”

फ्रन्टका संगठन समितिका सदस्य युजन राजभण्डारीका अनुसार, फ्रन्टले देशभरका जेन-जी, युवा र विद्यार्थीहरूलाई एउटै साझा प्लेटफर्ममा ल्याई परिवर्तनका एजेन्डाहरूलाई राज्यसँगको औपचारिक संवाद र सम्झौतामा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ।

उनका अनुसार, फ्रन्टमा आबद्ध हुन वा यसको क्रियाकलापबारे जानकारी लिन इच्छुक सबैले तोकिएका सम्पर्क व्यक्तिहरूमार्फत सहज सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय