सुरक्षा सरोकार , कैलाली — इलाका प्रहरी कार्यालय चिसापानीको इतिहासमा पहिलोपटक महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमुख नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट सरुवा भई आएकी इन्स्पेक्टर मीरा खड्काले कात्तिक ५ गतेदेखि औपचारिक रूपमा कार्यालय प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी हुन्।

कमाण्ड सम्हालेको केही दिनमै उनले सुरक्षा व्यवस्थालाई सुदृढ, अनुशासित र अपराधमुक्त बनाउने दृढता देखाएकी छन्। कार्यभार सम्हाले लगत्तै उनले नेतृत्व गरेको टोलीले मोहन्याल गाउँपालिका–७ स्थित ग्रिन सिटी होटलमा जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको थियो। सो क्रममा १ लाख ७७ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। अपरेसनको सफलता र तीव्रताले इन्स्पेक्टर खड्काको निडर, व्यावहारिक र परिणाममुखी नेतृत्वशैलीको स्पष्ट परिचय दिएको छ।

त्यसपछि पनि उनले अपराध नियन्त्रणका अभियानलाई निरन्तरता दिँदै लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गर्न सफल भएकी छिन्। दृढ स्वरमा उनले भनिन्,

“चिसापानीमा महिला इन्स्पेक्टर होइन, इन्स्पेक्टर छ भन्ने बुझ्नुहोस्। मेरो पहिलो प्राथमिकता भनेकै जेन–जी आन्दोलनमा लुटिएका हतियार बरामद गर्नु, जेलबाट फरार कैदी पक्राउ गर्नु र लागुऔषध नियन्त्रणमा ल्यानु हो।”

उनले चिसापानीलाई शान्त, सुरक्षित र अपराधमुक्त क्षेत्रका रूपमा स्थापित गर्न सुरक्षा संयन्त्र र स्थानीय निकायबीच सहकार्य बढाउने अभियान सञ्चालन गरिरहेकी छन्। खड्काले यो आफ्नो पहिलो कमाण्ड पोस्ट भएको बताउँदै यसलाई “अवसर र जिम्मेवारी दुवैको संगम”का रूपमा लिएकी छन्।

स्थानीय नागरिकहरूका अनुसार, चिसापानीमा पहिलोपटक महिला प्रहरी प्रमुख पाउनु स्थानीय समुदायका लागि गौरव र आत्मविश्वासको विषय बनेको छ। उनीहरू विश्वास गर्छन्— इन्स्पेक्टर खड्काको इमानदार, संवेदनशील र दृढ नेतृत्वमा शान्ति–सुरक्षा अझ प्रभावकारी हुनेछ।

हालसम्म चिसापानी इलाका प्रहरी कार्यालयमा १४ जना इन्चार्जले नेतृत्व गरेका छन्। तीमध्ये मीरा खड्का पहिलो महिला प्रमुख हुन्।

ग्याङफाइट र आपराधिक गतिविधिका कारण विगतमा संवेदनशील ठहरिएको चिसापानीमा अहिले उनको आगमनले नयाँ ऊर्जाशील नेतृत्व र जनविश्वासको वातावरण सिर्जना गरेको अनुभूति स्थानीयहरूले गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय