रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख इन्स्पेक्टर रन्जु केसीले रुपन्देही जिल्लामा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकाले सबै सरोकारवाला निकायको समन्वय र ध्यान अपरिहार्य भएको बताएकी छन् ।

सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यकाल समापन गर्दै केसीले भनिन्, “लुम्बिनी प्रदेशका अन्य जिल्लाको तुलनामा रुपन्देहीमा सडक र पूर्वाधार राम्रो भए पनि दुर्घटनाको दर उच्च छ । चालकको लापरबाही हो वा सडक निर्माणमा त्रुटि ? भन्ने विषयमा अब गहिरो अध्ययन आवश्यक छ।”

१४ महिनासम्म रुपन्देही ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकी केसीको यो कार्यकाल सकिँदैछ । उनी रुपन्देही ट्राफिक प्रहरी प्रमुखको नेतृत्व गर्ने पहिलो महिला प्रहरी अधिकारी हुन् ।

उनका अनुसार बढ्दो शहरिकरण, पार्किङस्थलको अभाव, जनसंख्या र सवारीसाधनको तीव्र वृद्धि लगायत कारणले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

“फिल्डमा खटिने काम ट्राफिक प्रहरीले गर्ने भए पनि दीगो व्यवस्थापनका लागि स्थानीय पालिका, यातायात व्यवसायी, सडक विभाग लगायतका निकायले पनि ध्यान दिन जरुरी छ,” उनले भनिन् ।

सिद्धार्थनगरमा अव्यवस्थित इ–रिक्सालाई व्यवस्थित गर्न नगरपालिकासँग समन्वय गरेर दर्ता प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।

जेन–जी आन्दोलनपछि राजश्व संकलनमा पनि प्रतिकूल असर परेको बताउँदै उनले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक १५ सम्म ८० लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइन् ।

आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा राडार गन, प्रोजेक्टर, अनुसन्धानका क्रममा ल्याइएका सवारीसाधन, ट्राफिक प्रहरीको पोशाक, लाइसेन्स मोबाइललगायतका उपकरण र भौतिक संरचनामा ठूलो क्षति पुगेको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय