दिपक राज जोशी ।नेपाल प्रहरीको नेतृत्व परिवर्तनको मिति नजिकिँदै गर्दा संगठनभित्र सशक्त र निर्णयक्षम नेतृत्वका रूपमा परिचित अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियोजित ‘छवि ध्वंस अभियान’को निशानामा परेका छन्।

गत भदौ १८ गते नियुक्त भएका हालका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ आगामी कात्तिक २७ गते अवकाश लिन लागेपछि ३३औँ आईजीपी नियुक्तिको तयारी तीव्र बनेको छ। तर, यही प्रक्रियाले प्रहरीभित्र नयाँ तरंग ल्याएको छ — खासगरी एआईजी कार्कीको बढ्दो सम्भावनाले केही स्वार्थी घेरालाई असहज बनाएको देखिन्छ।

स्रोतहरूका अनुसार, पछिल्ला दिनमा एआईजी कार्कीविरुद्ध योजनाबद्ध रूपमा दुष्प्रचार र भ्रम फैलाउने गतिविधि तीव्र भएको छ। सामाजिक सञ्जालदेखि अनौपचारिक सञ्जालसम्म उनका सकारात्मक कार्यहरूलाई कमजोर पार्ने प्रयास भइरहेका छन्। ती गतिविधि केवल व्यक्तिगत प्रतिस्पर्धाको उपज मात्र नभई नेतृत्व छनोट प्रक्रियामाथि दबाब सिर्जना गर्ने रणनीतिको हिस्सा पनि हुन्।

संकटकालीन नेतृत्व र स्थायित्वको प्रतीक

भदौ २४ गतेको संकटपूर्ण परिस्थितिमा उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई स्थायित्व दिलाउने निर्णायक भूमिका खेलेका कार्कीले त्यसबेला आफ्नो नेतृत्व क्षमताको प्रमाण दिएका थिए। अन्य एआईजीहरूले जिम्मेवारी लिन अस्वीकार गर्दा उनले अगाडि बढ्दै संकट व्यवस्थापनको नेतृत्व सम्हालेका थिए — यही कारणले उनले प्रहरी संगठनभित्र निर्णायक, साहसी र विश्वासिलो अधिकारीको पहिचान बनाएका छन्।

तर, यही सफलता अहिले केही प्रतिस्पर्धी र बिचौलियाका लागि असहजता बनेको छ। उनीहरू कार्कीको बढ्दो सम्भावनालाई रोक्न असत्य कथा र नकारात्मक सामग्रीमार्फत उनको छवि कमजोर पार्ने अभियानमा सक्रिय छन्।

बरियता र कार्यसम्पादनमा अग्रस्थान

बरियता, कार्यसम्पादन र निर्णय क्षमतामा अग्रस्थानमा रहेका कार्की सरकारका दृष्टिमा समेत ३३औँ आईजीपीका बलियो दावेदारका रूपमा हेरिएका छन्। पछिल्ला तीन आईजीपी नियुक्तिमा यिनै मापदण्डहरू निर्णायक बनेको तथ्यले पनि उनको सम्भावना अझ बलियो बनाएको छ।

नेपाल प्रहरीभित्र कार्कीको नाम संगठनात्मक दक्षता, अनुशासन र पारदर्शी कार्यशैलीको पर्याय बनेको छ। संकटका क्षणमा देखाएको साहस र निर्णय क्षमताका कारण उनी संस्थागत नेतृत्वका लागि सशक्त विकल्पको रूपमा स्थापित छन्।

सुरक्षा विश्लेषकहरू भन्छन् — कार्कीमाथिको दुष्प्रचार अभियान केवल व्यक्ति लक्षित होइन, संस्थागत मूल्य र प्रक्रियामाथिको आक्रमण हो। यदि यस्तो प्रवृत्तिले फेरि निर्णायक क्षणहरूलाई प्रभावित पार्ने हो भने प्रहरी नेतृत्व फेरि राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थको घेरामा फस्ने जोखिम रहन्छ।

अब प्रश्न यही छ — बरियता, कार्यसम्पादन र नेतृत्व क्षमतामा अगाडि रहेका कार्कीको नामले आगामी प्रहरी नेतृत्वको जिम्मेवारी पाउँछ कि फेरि ‘शक्तिकेन्द्र’ र ‘सम्बन्धको खेल’ले संस्थागत न्यायलाई बाङ्ग्याउनेछ?

यो केवल एआईजी दानबहादुर कार्कीको परीक्षा होइन, वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका लागि पनि संस्थागत निष्पक्षताको अग्निपरीक्षा बनेको छ।

व्यवसायिकता, दृष्टि र इमानदारीको यात्रा —

नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो। यही संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशकभन्दा बढी समय अर्पण गर्दै आएका एक नाम अहिले चर्चामा छन् — अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की।

हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कार्यरत कार्कीको करिअर इमानदारी, व्यावसायिकता र दूरदर्शी नेतृत्वको संयोजनको उत्कृष्ट उदाहरण हो। उनले प्रहरी सेवाका सबै तहमा जनताको विश्वास जित्ने कार्यशैली देखाएका छन्।

डिएसपी (DSP) हुँदा उनले बानेश्वर क्षेत्रका प्रमुखका रूपमा शान्ति–सुरक्षामा उल्लेखनीय सफलता देखाए।

एसपी (SP) का रूपमा कपिलवस्तु र कास्कीमा अपराध नियन्त्रण र सामुदायिक प्रहरी प्रणालीमा नयाँ दृष्टिकोण ल्याए।

एसएसपी (SSP) हुँदा काठमाडौं प्रहरी प्रमुखका रूपमा राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी र जनकेन्द्रित बनाए।

डीआईजी (DIG) हुँदा केन्द्रीय प्रवक्ताका रूपमा उनले प्रहरीका जनसरोकारका विषयहरू तथ्यगत, पारदर्शी र जिम्मेवार ढङ्गले सञ्चार माध्यममा प्रस्तुत गरे।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा उनले संगठनलाई अनुशासन, दक्षता र जवाफदेहिताको दिशामा उचाइमा पुर्‍याए।

प्रेरणादायी नेतृत्व र मनोबल अभिवृद्धि

जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्किएको बेला एआईजी कार्कीले संगठनभित्र आत्मविश्वास र प्रेरणाको वातावरण सिर्जना गरेका छन्। उनले प्रशिक्षण, समन्वय र मनोबल अभिवृद्धि कार्यक्रमहरूलाई प्राथमिकता दिए। प्रहरीका उपलब्धि र योगदानलाई सार्वजनिक रूपमा प्रोत्साहन गर्दै उनले संगठनभित्र ‘विश्वास र जिम्मेवारी’को भावना पुनर्जीवित गराएका छन्।

उनको नेतृत्वमा भएका यी कदमहरूले केवल संगठनभित्र सकारात्मक वातावरण निर्माण गरेका छैनन्, जनता र प्रहरीबीचको विश्वास पनि बलियो बनाएका छन्, जसले प्रहरी सेवाको कार्यकुशलता र समर्पणमा उल्लेखनीय वृद्धि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय