काठमाण्डौं। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी) को भवन पुनःनिर्माण गरी आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

स्थानीय समुदायको पहलमा भदौ २६ गते सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले भवन पुनःनिर्माण सम्पन्न गरी आज औपचारिक कार्यक्रममार्फत प्रहरीलाई हस्तान्तरण गरेको हो।

संयोजक महतका अनुसार, ११ सदस्यीय समितिले २०० स्थानीय, व्यवसायी, संघ–संस्था र समाजसेवीबाट स्वस्फूर्त रूपमा संकलित रू. ४९ लाख ५४ हजार ६८ को सहयोगमा भवन पुनःनिर्माण सम्पन्न गरेको हो।

पुनःनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) दानबहादुर कार्कीले भने,

“राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउँछन्। अब रगत होइन, मेहनतको पसिना बगाउने समय हो। सहकार्य र सद्भावका साथ अघि बढ्न जरुरी छ।”

उनले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिलाई दुःखद् भन्दै क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताए। साथै, स्थानीय समुदायले प्रहरी संस्थाको सम्मान र पुनःस्थापनामा देखाएको सहकार्यको उच्च प्रशंसा गरे।

प्रहरी वरिष्ठ उपरीक्षक (SSP) होविन्द्र बोगटीले विस्थापित प्रहरी प्रभागलाई पुनःस्थापित गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने,

“यो पुनःनिर्माण कार्य केवल भवन निर्माण होइन, सभ्य र शान्तिपूर्ण समाज निर्माणतर्फको एक अमूल्य योगदान हो।”

त्यस्तै, प्रहरी उपरीक्षक (SP) चक्र जोशी, जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारीका अनुसार, आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो। पुल्चोक र हरिसिद्धिबाट लुटिएका केही हतियार अझैसम्म पनि बरामद हुन बाँकी रहेको जानकारी उनले दिए।

प्रभागका प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माका अनुसार, आन्दोलनका क्रममा प्रहरीका लत्ताकपडा लुटिएका कारण नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य निरु खड्काले ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गरेकी छन्।

भवन पुनःनिर्माणमा ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, वडा नं २२ का अध्यक्ष सागर तुलाधर, वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, साथै प्रगति युवा क्लब र स्थानीय विशिष्ट व्यक्तित्वहरूको सहकार्य रहेको निरीक्षक शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय