दिपक राज जोशी। राज्यको आन्तरिक सुरक्षा नागरिकको ज्यान, धन, शान्ति र सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीको वृत्ति विकासमा असर नपरोस् भन्दै सरकारले पाँच नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस गरेको छ। राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक निकायहरूमा देखिएको अस्थिरता सुधार गर्न सरकारले छिटो बढुवा प्रक्रिया अघि बढाएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजी बढुवा गर्दा रोलक्रम यथावत राखेको बताए पनि पहिलो नम्बरमा रहेका एसएसपी विश्व अधिकारीलाई बढुवा सिफारिसबाट छुटाइएको छ। जेन–जी आन्दोलनमा दमनको आदेश दिएको आरोप लागेपछि उनी बढुवाबाट वञ्चित भएका हुन्।

२०८० वैशाख २४ को बढुवामा पहिलो नम्बरमा रहेका अधिकारी छुट्दा दोस्रो नम्बरका भूपेन्द्र खत्रीदेखि छैटौँ नम्बरका अविनारायण काफ्लेसम्म डिआइजीमा सिफारिस भएका छन्। भुपेन्द्र खत्री पनि एक काबिल प्रहरी अफिसरको रूपमा परिचित अफिसर हुन् ।

कार्कीका लागि आइजिपीको बाटो खुल्यो —

प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २७ गते अनिवार्य अवकाश हुँदैछन्। वरियताका आधारमा खापुङपछि आइजिपीका पहिलो दावेदार एआइजी दानबहादुर कार्की हुन्। उनी भदौ २४ मा जेन–जी आन्दोलन उत्कर्षमा पुगेको समयमा काठमाडौँ उपत्यका प्रहरी प्रमुखका रूपमा खटिएका थिए। डिआइजी बढुवाको सूचीले कार्कीका लागि आइजिपी बन्ने बाटो सहज बनाएको प्रहरी स्रोतको दाबी छ। उनी कमाण्ड कन्ट्रोल र व्यवसायिक दक्षताका कारण संस्थाभित्र उच्च सम्मान पाएका छन्।

प्रतिस्पर्धामा एआईजी मनोज केसी र राजन अधिकारी—

कार्कीका प्रमुख प्रतिस्पर्धी एआइजी मनोज केसी र राजन अधिकारी हुन्। केसी कांग्रेसनिकट मानिन्छन्। उनलाई संगठनमा एक बौद्दिक तथा काबिल प्रहरीकै रूपमा चिनिन्छ । अर्कोतर्फ, राजन अधिकारी त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट र नीति निर्माणमा दक्ष मानिन्छन्। उनी प्रधानमन्त्री सुशीला कार्कीका निकट रहेका छन्।

भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डिआइजी सिफारिसमा परेसँगै प्रहरी नेतृत्वमा नयाँ शक्ति सन्तुलन देखा परेको छ। प्रहरी वृत्तमा अबको केन्द्रबिन्दु भने आइजिपी पदमा दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीबीचको प्रतिस्पर्धा हुनेछ।

एआइजी दान बहादुर कार्की : इमानदारी, दूरदृष्टि र संगठनात्मक पुनर्जागरणको प्रतीक

नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो। यही संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशक नजिक पुर्‍याउँदै आएका एक नाम अहिले चर्चामा छ — अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की। अतिरिक्त महानिरीक्षक(एआईजी) दान बहाजदुर कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन्।

दान बहादुर कार्कीको करिअर इमानदारी, व्यावसायिकता र दूरदर्शी नेतृत्वको संयोजनको उत्कृष्ट उदाहरण हो। उनले प्रहरी सेवाका सबै तहमा जनताको विश्वास जित्ने कार्यशैली देखाएका छन्।डिएसपी (DSP) हुँदा उनले बानेश्वर क्षेत्रका प्रमुखका रूपमा शान्ति–सुरक्षामा उल्लेखनीय सफलता देखाए र चर्चाको शिखरमा आएका थिए । एसपी (SP) भएपछि कपिलवस्तु र कास्कीका प्रमुखका रूपमा अपराध नियन्त्रण र सामुदायिक प्रहरी प्रणालीमा नयाँ दृष्टिकोण ल्याए। साथै एसएसपी (SSP) हुँदा काठमाडौँ प्रहरी प्रमुखका रूपमा राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी र जनकेन्द्रित बनाए।अनि डीआईजी (DIG) हुँदा उनले केन्द्रीय प्रवक्ता (Spokesperson) का रूपमा प्रहरीका जनसरोकारका विषयहरू तथ्यगत, पारदर्शी र जिम्मेवार ढङ्गले सञ्चारमाध्यममा प्रस्तुत गरे। यसका साथै लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा उनले संगठनलाई अनुशासन, दक्षता र जवाफदेहिताको दिशामा उचाइमा पुर्‍याए।

हाल काठमाडौँ उपत्यका प्रहरी कमाण्डको जिम्मेवारी सम्हाल्दै, उपत्यकामा हुने अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार ल्याइरहेका छन्। उनको नेतृत्वशैली सैद्धान्तिक स्पष्टता, व्यावहारिक दृष्टि र सहकर्मीप्रतिको सम्मानमा आधारित छ।

जेनजी आन्दोलनपछि प्रहरीले सामना गरेको चुनौती र आलोचनाका कारण प्रहरीको मनोबल खस्किएको थियो। यस परिस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले प्रहरी जवान र अधिकृतहरूको मनोबल उच्च बनाउन विशेष पहल सुरु गरेका छन्। उनले प्रशिक्षण, समन्वय, र मनोबल अभिवृद्धि कार्यक्रमहरूलाई जोड दिएका छन्। साथै, प्रहरीका उपलब्धि र योगदानलाई प्रोत्साहन गर्दै कर्मचारीहरूमाझ विश्वास र जिम्मेवारीको भावना विकास गर्न पहल गरिरहेका छन्। एआईजी कार्कीको नेतृत्वमा भएका यी कदमहरूले केवल संगठनभित्र सकारात्मक वातावरण निर्माण गरेका छैनन्, बल्कि जनता र प्रहरीबीचको विश्वास पनि बलियो बनाउँदै प्रहरीको कार्यकुशलता र समर्पणमा वृद्धि गरेका छन्।

कार्कीको इमानदार छवि —

डिएसपीदेखि नै कमाण्ड कन्ट्रोलमा काविल मानिएका कार्कीले नाकाबन्दीका बेला दुगड ग्रुपको कालोबजारी विरुद्ध मुद्दा दायर गरी इमानदार छवि बनाएका थिए। १२० रुपैयाँ पर्ने तोरीको तेललाई ३४० रुपैयाँमा बिक्री गरेको सूचना पाएपछि उनले गोदाममा छापा मारी ठगी तथा कालोबजारीमा मुद्दा चलाएका थिए। यसैगरी नक्कली भूटानी शरणार्थी प्रकरणमा पनि कार्कीको भूमिका निर्णायक रहेको थियो। उनको पहलमा अदालतमा पुनः अनुसन्धान गर्नसक्ने व्यवस्था थपिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय