नवलपरासी — प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले जनअपेक्षाअनुरूप कार्यशैली र व्यवहारमा सुधार गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) को कावासोतीमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गर्दै उनले आन्दोलनपश्चात् जनभावनाअनुसार सुधार गर्नुपर्ने पक्षहरूमा प्रहरी संगठन प्रतिबद्ध रहेको बताए।

आईजीपी खापुङले भने, “जनअपेक्षाअनुसार हामी पनि केही सुध्रनुपर्छ। हाम्रो बोली, वचन र व्यवहारमा सुधार ल्याएर नागरिकमैत्री कार्यमा अघि बढ्न दत्तचित्त हुनुपर्छ।”

उनले ‘जेनजी आन्दोलन’का क्रममा प्रहरी, राजनीतिकर्मी, सिंहदरबार, संसद् भवन र नगरपालिकालाई किन निशाना बनाइयो भन्ने विषयमा सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने बताए। “जेनजी आन्दोलनका मूलभूत मागहरू — भ्रष्टाचाररहित समाज, सहज सेवा र सुशासन — हाम्रो पनि साझा माग हुन्,” उनले जोड दिए, “राज्यको उन्नति र प्रगतिका लागि ती मागहरू आत्मसात् गर्नुपर्छ।”

आईजीपी खापुङले जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिल्याउने तत्त्वहरूलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाए। “राजनीतिक विषयबाहेक अन्य फौजदारी अपराधमा संलग्न जोसुकैलाई कारबाही हुनेछ,” उनले स्पष्ट पारे।

सो अवसरमा महानिरीक्षक खापुङले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कावासोती नगरपालिका–२ मा निर्माण गरिएको नमूना पेट्रोल पम्पको उद्घाटन गरे। करिब रु. १० करोड ९८ लाख लागतमा बनेको उक्त पम्पमा चार्जिङ स्टेसन, रिफ्रेस सेन्टर, एटिएम मेसिन, टोकन काउन्टर, वर्कसपलगायत सुविधा रहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय