सुरक्षा, सद्भाव र जिम्मेवारीप्रति समर्पित प्रहरी कार्यको सुनवल नगरपालिकाद्वारा उच्च प्रशंसा

सुनवल (नवलपरासी)। सुनवल नगरपालिकामा पर्ने ईलाका प्रहरी कार्यालय, सुनवल (ब.सु.प.) का कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पौडेल र वरिष्ठ (सई) सुमन खरेललाई नगरपालिकाले विशेष सम्मान गरेको छ।

सुनवल नगरपालिका भित्र सामाजिक सद्भाव कायम गर्न, महिला, बालबालिका तथा असहाय नागरिकका हकअधिकारको संरक्षण गर्न, शान्ति–सुरक्षा र अमन–चयनको वातावरण स्थापना गर्न, विपद् व्यवस्थापन तथा पीडित उद्धारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नगरपालिकाले उनीहरूलाई सम्मान गरेको हो।

त्यसैगरी, जेन–जेड आन्दोलनका क्रममा सुनवल नगरपालिकाको सम्पत्ति तथा कार्यालय संरचनामा कुनै प्रकारको क्षति हुन नदिन सशक्त संयम, दृढता र समन्वयात्मक नेतृत्व देखाएको कारण पनि उनीहरूको कार्य प्रशंसनीय ठहरिएको हो।

नगरपालिकाले भनिएको छ — “प्रहरी निरीक्षक पौडेल र वरिष्ठ सई खरेलले पेशागत जिम्मेवारी निर्वाहमा देखाएको सक्रियता, नागरिकप्रति उत्तरदायित्व र संकटका समयमा जनसहयोगी भूमिकाले सम्पूर्ण नगरवासीको मन जितेको छ।”

सुनवल नगरपालिकाले आफ्नो क्षेत्रभित्र सुरक्षा, सुशासन र नागरिक विश्वास सुदृढीकरणमा प्रहरीको सक्रिय योगदानलाई उदाहरणीय कार्यका रूपमा व्याख्या गर्दै, आगामी दिनमा पनि प्रहरी–नगरपालिका सहकार्यलाई अझ सबल र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

सम्मानपत्र प्रदान गर्ने कार्यक्रममा नगर प्रमुख विमला अर्याल, उप–प्रमुख प्रसाद दुवे र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गोतामे उपस्थित रहेका थिए। उनीहरूले संयुक्त रूपमा दुवै सुरक्षाकर्मीलाई सम्मानपत्र प्रदान गर्दै सुरक्षा र नागरिक सेवामा समर्पित प्रहरीको योगदानको उच्च प्रशंसा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय