
सुरक्षा सरोकार — काठमाडौंमा जिल्ला प्रहरी परिसरको आयोजनामा सम्पन्न “मिट एण्ड ग्रिट विद कम्युनिटी” कार्यक्रमले प्रहरी र समुदायबीचको विश्वास र सहकार्यलाई थप सुदृढ बनाएको छ।
भाद्र २३ र २४ गतेका आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग गर्ने समुदाय र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिक र समुदायबाट प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल प्रहरीले स्वच्छ, पारदर्शी, व्यावसायिक र नागरिक–मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रहरी र समुदायबीचको सहकार्यले समाजमा भयमुक्त र शान्त वातावरण निर्माणमा टेवा पुग्ने बताउनुभयो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि समुदायबाट प्राप्त निरन्तर साथ र सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “समुदायको विश्वास र सहयोगकै कारण प्रहरी सेवा अझ प्रभावकारी बनेको छ। आगामी दिनमा पनि यस्तो सहकार्य निरन्तर रहोस् भन्ने हाम्रो चाहना हो।”
उक्त कार्यक्रममा प्रहरी अधिकारीहरू, जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत र विश्वासपूर्ण बनाउने विश्वास व्यक्त गरे।



