सुरक्षा सरोकार — काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको निर्देशनमा सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरिएको छ।

यस अभियानअन्तर्गत साइलेन्सर परिमार्जन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ। सेवाग्राहीहरूले परिवर्तित साइलेन्सरबाट उत्पन्न अत्यधिक आवाजका कारण हुने ध्वनि प्रदूषणको गुनासो गरेपछि एसएसपी अधिकारीले ट्राफिक प्रहरीलाई अभियान तीव्र बनाउन निर्देशन दिएका हुन्।

एसएसपी अधिकारीका अनुसार, यो अभियानलाई ट्राफिक कार्यको नियमित हिस्सा बनाइनेछ। “नियन्त्रणमा लिने, साइलेन्सर झिक्ने, मापदण्डअनुसार फेर्न लगाउने र जरिवाना तिरेपछि मात्र सवारी फिर्ता गरिनेछ,” उनले बताए।

बिहीबार एसएसपी अधिकारी स्वयं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित भई नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको बारेमा पत्रकार सम्मेलन गरेका थिए। उक्त अवसरमा उनले स्वरूप परिवर्तन गरी ठूलो आवाजसहित सवारी चलाउने चालकहरूमाथि कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिए।

उनका अनुसार, अभियान सुरु भएपछि हालसम्म करिब २०० वटा मोटरसाइकल नियन्त्रणमा लिइएका छन् र ती सबैको साइलेन्सर झिकिएको छ। सम्बन्धित सवारी धनीहरूलाई मापदण्डअनुसारको साइलेन्सर राखेपछि मात्र सवारी चलाउन अनुमति दिइनेछ।

सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गर्न पाइँदैन। तर धेरै चालकहरूले यो नियम उल्लङ्घन गरी साइलेन्सर परिवर्तन गर्ने गरेको पाइएकाले यसप्रति कडाइ गर्नुपर्ने एसएसपी अधिकारीको भनाइ छ। “यस्ता मोटरसाइकलले ठूलो आवाज निकाल्दा विद्यालय, अस्पताल र बासिन्दाहरूलाई असहज बनाउँछ,” उनले भने, “ध्वनि प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण अत्यावश्यक छ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालकहरूलाई सचेत रहन आग्रह गर्दै कम्पनी मापदण्ड विपरीत सवारीको स्वरूप परिवर्तन नगर्न अनुरोध गरेको छ। साथै, यो अभियानलाई निरन्तरता दिँदै मुख्य चोक, बजार क्षेत्र र शैक्षिक संस्थान नजिक निगरानी थप सुदृढ पार्ने तयारी गरेको छ।

एसएसपी अधिकारीका अनुसार,” साइलेन्सर परिवर्तनले मोटरसाइकलको इन्जिनमा ध्वनि प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पार्ने , नकारात्मक असर पार्ने र दुर्घटनाको जोखिम बढाउने भएकाले चालकहरूलाई यसबारे सचेत गराइएको छ।”

उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले पनि उक्त अभियानलाई समर्थन जनाउँदै ध्वनि प्रदूषण नियन्त्रणमा सबै नागरिकको सहकार्य आवश्यक रहेको बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, नियमविपरीत साइलेन्सर परिवर्तन गर्ने चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जरिवाना गरिनेछ। पहिलो पटक सचेत गराइने र दोहोरिएमा कडा कारबाहीको व्यवस्था रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय