सुरक्षा सरोकार  । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले काटेश्वर चोकमा दुई घण्टा सडकमै उभिएर ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याएका छन्। दैनिक जाम र ट्राफिक चापको समस्या समाधानका लागि अधिकारीले प्रत्यक्ष रूपमा फील्डमा खटिने पहल गरेका हुन्।

बिहान र बेलुकाको पिक आवरमा सडकमा सवारीचालक र पैदलयात्रीको अत्यधिक भीड हुने समयमा एसएसपी अधिकारी स्वयं डण्डा लिएर ट्राफिक प्रहरीसँगै उभिएका थिए। उनले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीकर्मीहरूलाई उत्साह, सन्देश र सहकार्यको उदाहरण प्रस्तुत गर्दै “नेतृत्व आफैं फील्डमा उत्रँदा टोली थप ऊर्जावान बन्छ” भन्ने सन्देश दिएका छन्।

त्यसपछि अधिकारीले सडकमै प्रहरी कर्मचारीहरूसँग संयुक्त रूपमा खाना पनि खाए, जसले प्रहरी संगठनभित्र आत्मबल र सहकार्यको भावना थप बलियो बनाएको देखिएको छ।

स्थानीयवासी र सवारीचालकहरूले एसएसपी अधिकारीको यो कदमको चौतर्फी प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा समेत उनका फोटाे र भिडियोहरू भाइरल बन्दै गएका छन्। धेरैले “नेता अग्रपंक्तिमा हुँदा संगठनको मनोबल फरक पर्छ” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

ट्राफिक प्रहरी कार्यालयका अनुसार यस्ता गतिविधिले न केवल प्रहरीहरूलाई प्रेरित गर्छन्, बरु नागरिक र प्रहरीबीचको विश्वास र साझेदारी पनि बलियो बनाउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय