चितवन, असोज २८ — चितवनको कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार राति अन्दाजी १२ बजे नक्कली प्रहरीको शैलीमा चोरी प्रयास भएको खुलासा भएको छ। प्रहरीको जस्तो पोसाक लगाएर आएका व्यक्तिहरूले घरमा पसेर चोरी गर्न खोज्दा घरधनीसँग प्रत्यक्ष जम्काभेट भएपछि ‘फरार कैदी खोज्न आएका हौं’ भन्दै रातको अँध्यारोमा उम्किएका हुन्।

घटना नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा भएको हो। खतिवडाका अनुसार उनी र उनका दाजुभाइ नजिकैको काकाको घरमा क्रिकेट खेल हेर्न गएका थिए। घर छाड्दा बाहिरको बत्ती बालेर ढोका बन्द गरेका थिए तर फर्कँदा सडक पोल र घरअगाडिको बत्ती दुबै निभेको देखेपछि शंका लागेर ढोका खोलेका थिए।

“घरमा छिर्न खोज्दै गरेका दुई व्यक्ति भेटिए, हामीलाई प्रहरी भन्दै फरार कैदी खोज्न आएको बताए र तत्क्षण भागे,” खतिवडाले बताए।

घटनापछि इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो। डीएसपी भट्टले प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिहरू वास्तविक प्रहरी नभई चोरीको नियतले आएका हुनसक्ने बताएका छन्।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले फरार कैदीको सम्भावनालाई समेत नकार्न नसकिने जनाउँदै सबै कोणबाट अनुसन्धान भइरहेको बताए।

“फरार कैदी वा योजनाबद्ध चोरी समूह दुवै कोणबाट अनुसन्धान गरिँदैछ,” एसपी पुरीले भने।

स्मरणीय छ, हालै देशका विभिन्न कारागारबाट हजारौँ कैदी फरार भएपछि प्रहरी प्रशासन सतर्क अवस्थामा छ। त्यसैबीच चितवनमा नक्कली प्रहरीको आवरणमा चोरी प्रयास भएको घटनाले स्थानीयमा सुरक्षा चिन्ता थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय