
काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन्।
पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र पाँच करोड रुपैयाँभन्दा बढी नगद चोरी तथा लुटपाट भएको थियो।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले क्लिकमान्डुसँग भने, “प्रदर्शनकारीले पाँच करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेका थिए।” बैंकको नयाँ बानेश्वर शाखामा रहेको भल्टसम्म पुग्न आइरन गेट नै फोडेर उक्त लुटपाट भएको पाइएको छ।
बैंकले चोरी र लुटपाटको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी गरेको थियो। यस क्रममा कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिइएको सुन समेत चोरी भएको पुष्टि भएको छ। भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शन २४ गते उग्र रूप लिएको थियो। सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंक शाखामा तोडफोड र आगजगनी भएको थियो।
बैंकको शाखामा मध्यरातिसम्म पनि तोडफोड जारी थियो। भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै बैंक तोडफोड गरिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण र ६९ वटा एटीएममा केही क्षति पुगेको थियो।



