
काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानजस्ता विपद्ले ठूलो भौतिक क्षति पुर्याइरहेका बेला १४ पिक्स एक्सपेडिसन (14 Peaks Expedition) ले २०७ थान टेन्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ।
आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक टासी लाक्पा शेर्पाले कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीलाई टेन्ट हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एआइजी कार्कीले नेपाल बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको उल्लेख गर्दै, विपद् प्रभावित तथा विस्थापित नागरिकका लागि यी टेन्टहरू अत्यन्त उपयोगी हुने बताए।
उनले १४ पिक्स एक्सपेडिसनद्वारा गरिएको सहयोगलाई “पुण्य कार्य” भन्दै नेपाल प्रहरीको तर्फबाट आभार व्यक्त गरे।
त्यसैगरी, टासी लाक्पा शेर्पाले देश र जनताको सेवामा सधैं अग्रपंक्तिमा रहने नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा गर्व र खुशी लागेको बताए।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, अन्य वरिष्ठ प्रहरी अधिकृतहरू तथा १४ पिक्स एक्सपेडिसनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।