सुरक्षा सरोकार — गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त चार वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदपूर्तिका लागि सिफारिस प्रक्रिया चाँडै अघि बढाउने तयारी थालेको छ।

नेपाल प्रहरीले उच्च तहको संगठनात्मक संरचना फेरबदल गरेसँगै चार वटा डीआईजी पद रिक्त भएका थिए। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको निर्णयअनुसार हालै चार जना डीआईजीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको थियो, जसका कारण ४ पदहरू खाली भएका हुन्।

असोज १२ गते बढुवा भई एआईजी बनेका अधिकृतहरूमा सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विक रहेका छन्। उनीहरूको बढुवापछि रिक्त बनेका डीआईजी पदमा नियुक्तिको प्रक्रिया प्रारम्भ हुने तयारी गृह मन्त्रालयले गरेको हो।

यसका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूबीच बढुवा प्रतिस्पर्धा तीव्र बनेको छ। २०८० वैशाख २४ को बढुवा सूचिमा विश्व अधिकारी पहिलो वरीयतामा छन् भने भूपेन्द्र खत्री दोस्रो र सानुराम भट्टराई तेस्रो स्थानमा छन्।

त्यस्तै, चौथोमा ओम अधिकारी, पाँचौँमा शेखर खनाल, छैटौँमा अभिनारायण काफ्ले, सातौँमा सोमेन्द्रसिंह राठौर, आठौँमा मुकुन्द मरासिनी र नवौँमा दीप शमशेर जबरा रहेका छन्।

अन्य प्रतिस्पर्धीहरूमध्ये दशौँ स्थानमा गोपालचन्द्र भट्टराई, ११ औँमा प्रविण पोखरेल, १२ औँमा गंगा पन्त र १३ औँ स्थानमा कृष्णबहादुर पल्लीमगर छन्।१४ औँमा १५ औँमा तारादेवी थापा र १६ औँ स्थानमा प्रज्वल महर्जन रहेका छन्। यस्तै, एसएसपी बढुवाको दोस्रो सूचीका वसन्त रजौरे पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन्। उनी २०८० कात्तिक २४ मा बढुवा भएका थिए र काविल अधिकृतका रूपमा परिचित भएकाले उनको सम्भावना पनि उच्च मानिएको छ।

यी सबै एसएसपीहरू २०८० वैशाख १५ गते एकैपटक बढुवा भएका हुन्। वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन र नेतृत्व क्षमताका आधारमा चाँडै डीआईजी बढुवा प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

यी अधिकारीहरू सबै २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका एउटै ब्याचका अधिकृत भएकाले यो बढुवा प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ।

हालै सम्पन्न एआईजी बढुवा र सरुवापछि खाली भएका डीआईजी पदमा बढुवा हुनुपर्ने भए पनि गृह मन्त्रालयले अहिलेसम्म सिफारिस प्रक्रिया अघि बढाएको छैन।

गृह मन्त्रालय स्रोतका अनुसार, बढुवा समितिको बैठक बसेपछि चारै पदका लागि प्रतिस्पर्धीहरूको अन्तिम सूची तयार पारिनेछ। स्रोतका अनुसार बढुवामा मेरिट, अनुभव, नेतृत्व क्षमता र विगतको कार्यसम्पादन मूल्याङ्कनलाई मुख्य आधार बनाइनेछ।

आगामी बढुवा निर्णयले प्रहरी नेतृत्वमा नयाँ शक्ति सन्तुलन कायम गर्ने विश्लेषण प्रहरी वृत्तभित्र भइरहेका छन्।

नेपाल प्रहरीका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, सोमेन्द्रसिंह राठौर, गंगा पन्त र शेखर खनाल जस्ता अधिकारीहरू संगठनभित्र अब्बलको रूपमा परिचित छन्। उनीहरूको कार्यशैली, नेतृत्व क्षमता र विगतका पदहरूमा गरेको सफल कामका कारण यो बढुवा प्रतिस्पर्धा अझ रोचक बनेको छ।

गृह मन्त्रालयले छिट्टै बढुवा समितिको बैठक बोलाउने तयारी गरेको छ। रिक्त पदमा योग्य, इमानदार र सक्षम अधिकृतहरूलाई अघि ल्याउने उद्देश्यसहित प्रक्रिया अघि बढाइने बताइएको छ।

डीआईजी बढुवालाई नेपाल प्रहरीको आगामी नेतृत्व निर्माणको आधारका रूपमा हेरिएको छ। एआईजी र भविष्यका आइजिपी बन्ने सम्भावित नेतृत्व यसै तहबाट उक्लिने भएकाले यो बढुवा प्रतिस्पर्धा संगठनभित्र चासो र चर्चा दुवैको केन्द्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय