
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकारी मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखका रूपमा सरुवा गर्ने निर्णय गरेको हो।

यसअघि तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण केसी जिम्मेवारीबाट हटाइएका थिए। उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेका कारण उनको पोस्टिङ लामो समयसम्म प्रभावित भएको थियो। पछिल्लो समय उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ गते नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो।
यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि, सीआईबी कार्यवाहक नेतृत्वमा मात्रै सञ्चालन हुँदै आएको थियो।
डा. मनोज केसी प्रहरी संगठन भित्र एक अत्यन्तै बौद्धिक, अनुशासित र काबिल अफिसरका रूपमा परिचित छन्। उनी कार्यक्षेत्रमा सधैं उच्च पेशागत मापदण्ड पालना गर्ने, योजना र अनुसन्धानमा सूक्ष्म दृष्टि राख्ने र कानुनको मर्यादा अतिक्रमण नगरी काम गर्ने शैलीका लागि सम्मानित छन्। अनुसन्धानको क्रममा उनी तथ्य र प्रमाणमा आधारित निर्णय गर्ने, तत्कालीन राजनीतिक दबाब वा बाह्य प्रभावमा नपर्ने व्यक्तित्वका धनी हुन्।
उनको नेतृत्वमा टोलीहरू व्यवस्थित र प्रभावकारी रूपमा काम गर्छन्। डा. केसीले जटिल अपराध अनुसन्धानमा समेत दक्षता प्रदर्शन गरी संगठनको प्रतिष्ठा र विश्वासिलो छवि निर्माण गर्न महत्वपूर्ण योगदान दिएका छन्। उनी प्रष्ट दृष्टिकोण र निष्पक्ष निर्णयका कारण सबैको विश्वास जितेका छन्।



