
डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले आफ्नो कार्यकालमा भएका कामहरू सार्वजनिक गरेका छन्। शनिवार कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो कार्यकालका उल्लेख्य उपलब्धि प्रस्तुत गर्दै जनतासँग जवाफदेही प्रहरी नेतृत्वको परिचय दिएका हुन्।
भदौ ३१ गतेको प्रहरी महानिरीक्षकको निर्णयअनुसार श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा सुर्खेतमा सरुवा भएको हो। उनले गत वर्ष असोज १६ गतेदेखि डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका थिए।

पत्रकार सम्मेलनमा डीएसपी श्रेष्ठले अपराध नियन्त्रणदेखि सामुदायिक प्रहरी अवधारणासम्मका गतिविधि प्रस्तुत गरेका थिए। उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालयले १९० मुद्दा दर्ता गरेको थियो, जसमा ११८ फछ्र्यौट भएका थिए भने ९० मुद्दा अझै बाँकी रहेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ३७ मुद्दा दर्ता भइसकेका छन्, जसमा १४ फछ्र्यौट भएका छन्।

लागूऔषध नियन्त्रणमा समेत उनले सशक्त अभियान सञ्चालन गरे। गत वर्ष ११ मुद्दा दर्ता भई १५ जना पक्राउ परेका थिए भने यस वर्ष हालसम्म २ मुद्दा दर्ता भई ४ जना पक्राउ भइसकेका छन्। फरार प्रतिवादी पक्राउ अभियानमा समेत उल्लेख्य उपलब्धि हासिल भएको उनले बताए। गत वर्ष १८६ मध्ये ९४ जना फरार पक्राउ गरी ५२ वर्षभन्दा बढी कैद सजाय र करिब ४७ लाख रुपैयाँ जरिवाना कार्यान्वयन गरिएको थियो। चालु वर्षमा २९ जना फरार पक्राउ गरी ३ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन भएको छ। यस उपलब्धिका कारण जिल्ला अदालत डडेल्धुराले समेत प्रहरी कार्यालयलाई सम्मान गरेको थियो।
श्रेष्ठको कार्यकालमा डडेल्धुराका केही चर्चित अपराध प्रकरण सुल्झिएका थिए। अमरगढी–७ की आरती भट्टराई हत्या, गन्यापधुराकी खिमादेवी भुल हत्या, अमरगढी–३ की अस्मिता थापा मगर हत्या तथा शीर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी घटनाको अनुसन्धान उनको नेतृत्वमै सम्पन्न भएको हो।

अपराध नियन्त्रणसँगै श्रेष्ठले सामुदायिक प्रहरी अवधारणामा पनि विशेष जोड दिए। १,१४८ वटा सामुदायिक कार्यक्रममार्फत करिब २४ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएका थिए। पीडित परिवारसँग पुनः सम्पर्क, वित्तीय साक्षरता, विद्यार्थी–प्रहरी भेटघाट, थुनुवासँग परामर्श सेवा, सडक सुरक्षा तालिम तथा अरिङ्गाल जोखिम न्यूनीकरणजस्ता कार्यक्रम सञ्चालन गरिएको थियो।
चालु वर्षमा तुफानडाँडामा जोर–विजोर पार्किङ प्रणाली, सेवाग्राही प्रतिक्षालय, नयाँ प्रहरी पोष्ट स्थापना, अभिभावक–प्रहरी भेटघाट तथा सचेतनामूलक होर्डिङ बोर्ड जस्ता कार्यक्रमलाई समेत उनले आफ्नो कार्यकालको उपलब्धि मानेका छन्। डडेल्धुराको एक वर्षे बसाइँमा सल्लाह, सुझाव र सहयोग गर्ने सबै सञ्चारकर्मीलाई धन्यवाद दिँदै उनले प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई अझ बलियो बनाउन प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले डीएसपी श्रेष्ठको एकवर्षे कार्यकाल उत्कृष्ट रहेको उल्लेख गर्दै उनको काबिल नेतृत्व, मिलनशार स्वभाव र जनमैत्री व्यवहारले प्रहरी–नागरिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको प्रशंसा गरे।



