
काठमाडौं — उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाएको छ।
उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जेनजी आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भए पनि ट्राफिक प्रहरीहरू सडकमा नियमित व्यवस्थापनमा खटिसकेको जानकारी दिए।

उनले बताएअनुसार, सडकका डिभाइडर, ट्राफिक बत्ती र सिसिटिभीमा समेत क्षति पुगेको छ। तत्कालका लागि सवारी आवागमनमा समस्या नहोस् भन्ने उद्देश्यले पहिलेभन्दा बढी संख्यामा ट्राफिक प्रहरी खटाइएको छ। अधिकारीले सवारी चालकहरूले ट्राफिक नियमको पालना गरेमा अवस्था थप सहज हुने पनि बताए।
आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र होइन, कार्यालयबाहिर पार्क गरिएको सवारी साधनहरू समेत जलेर ध्वस्त भएका थिए।



