काठमाडौं । जेन–जीको नेतृत्वमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा मंगलबार ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय सात वर्षदेखि नेपाल प्रहरी सेवामा कार्यरत थिए।

सिन्धुलीको लदाभिर गाउँपालिका–६ (हाल दुधौली नगरपालिका–८) का मिलनको बाल्यकाल चुनौतीपूर्ण रह्यो। ब्लड क्यान्सरका कारण उनका बुबाको मृत्यु हुँदा उनी डेढ वर्षका मात्रै थिए। सो आघातका कारण आमा पनि मानसिक तनावमा पर्नुभएपछि काका केशव रायले अभिभावकको भूमिका निर्वाह गर्दै उनलाई ब्याचलर सम्म पढाए।

पढाइमा तेज मिलन एसएलसीमा प्रथम श्रेणीमा पास भए। त्यसपछि काठमाडौं ल्याइएर ११ र १२ तह अध्ययन गरे। पुष्पलाल मेमोरियल कलेज, काठमाडौंमा व्यवस्थापन विषयमा अध्ययन गर्दा कलेज टपर समेत बने। २०७४ सालमा प्रहरी सहायक निरीक्षकमा नियुक्त मिलन हाल प्रहरी वृत्त महाराजगन्जको अपराध अनुसन्धान शाखामा कार्यरत थिए। उनको दरबन्दी इलाका प्रहरी कार्यालय रामेछापमा थियो।

आक्रमण भएको दिन उनी सामान्य पोसाकमै ड्युटीमा थिए। मंगलबार महाराजगन्जमा आगजनी र तोडफोड गर्ने समूहले उनलाई कुटपिट गरी हत्या गरेको भन्दै उनका काका केशव रायले जाहेरी दर्ता गरेका छन्। ‘मैले दिउँसो २ बजे मिलनलाई फोन गर्दा उनले सुरक्षित रहेको बताएका थिए। तर केहीबेरमै उनको मृत्यु भएको खबर पाएँ,’ काका केशवले बताए।

फोटो र भिडियोमा मिलनलाई सडकमा घिसार्दै, लात्ती प्रहार गर्दै मारिएको स्पष्ट देखिने उनले बताए। ‘न्यायका लागि जाहेरी दिएका छौँ,’ काकाको भनाइ छ।

मिलनले एक वर्षअघि मात्रै विवाह गरेका थिए। उनकी श्रीमती अध्ययनका लागि चार महिनाअघि जापान गएकी थिइन्। तीन दाजुभाइमध्ये कान्छा रहेका मिलन सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका इमानदार प्रहरीका रूपमा चिनिन्थे।

उनलाई चिनेका साथीभाई सबैको नजरमा  उनी अत्यन्त प्रिय र मिलनसार थिए। जहाँ गए, साथी र सहकर्मीहरूसँग राम्रो सम्बन्ध बनाउने, सहयोग गर्ने र विश्वास जित्ने उनको अद्वितीय क्षमता थियो। संगठनभित्र पनि उनी आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ थिए। हाकिमका निर्देशनहरूलाई सधैं इमानदारीपूर्वक पालन गर्ने उनको बानीले उनलाई सम्माननीय र भरोसायोग्य प्रहरी बनाएको थियो। कठिन परिस्थितिमा पनि उनी आफ्नो धैर्यता र अनुशासन कायम राख्थे। उनका यी गुणहरूले उनलाई एक आदर्श, इमानदार, निष्ठावान र सबैका लागि प्रेरणादायी प्रहरीका रूपमा चिनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय