
काठमाडौं । नेपाल सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै निष्क्रिय भएका मध्ये एक्स (पहिले ट्विटर) र विच्याटले नेपालमा सूचीकरण प्रक्रियाप्रति चासो देखाएका छन्।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार यी दुवै कम्पनीले चासो देखाए पनि अहिलेसम्म आधिकारिक निवेदन भने दिएका छैनन्।

‘एक्स र विच्याटले चासो देखाएको छ, तर आधिकारिक रूपमा निवेदन दिइसकेको भने छैन,’ पौड्यालले जानकारी दिए।
यसअघि बिहीबार नै हाम्रो पात्रोले निवेदन दिएका कारण सूचीकरण प्रक्रियामा प्रवेश गरिसकेको छ। त्यस्तै, फेसबुककी माउ कम्पनी मेटाका प्रतिनिधिले सिंगापुरबाट मन्त्रालयलाई सम्पर्क गरेका छन्। मन्त्रालयले सम्पर्क गर्ने प्रतिनिधिलाई इमेलमार्फत आवश्यक प्रक्रिया र कागजातबारे विवरण उपलब्ध गराएको जनाएको छ।



