
काठमाडौं । सरकारले रोलक्रम अनुसार चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आइजीपी)मा नियुक्त भइसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १९ देखि लागू हुने गरी उनलाई दुई महिनाका लागि आइजीपी बनाइएको हो। आज दर्जानी चिन्ह (फुली) लगाउने कार्यक्रम पनि तय गरिएको छ।
भदौ १८ मा ३० वर्षे सेवाअवधि पूरा गर्दै प्रहरी महानिरीक्षक दीपक थापा तथा अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ र सुदीप गिरी अवकाशमा गएपछि सरकारले समयमै खापुङलाई नियुक्त गरेको हो। उनीहरू २०५२ भदौ १९ मा प्रहरी निरीक्षकमा एकैपटक भर्ना भएका सहपाठी हुन्।

यससँगै भावी आइजीपी को हुने भन्ने विषयमा प्रहरी संगठनभित्र र बाहिर चासो बढेको छ। एआइजी दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशगत आधारमै एआइजीहरूको पक्षमा समूह बनेका छन्— लुम्बिनीको टोली कार्कीको समर्थनमा, कोशी प्रदेशको टोली अधिकारी र कार्कीबीच विभाजित, भने सुदूरपश्चिमको टोली शाहलाई अघि सार्ने प्रयासमा लागेको छ। साथै, मनोज केसी समूह भने त्यति सक्रिय रूपमा लबिङमा नलागेको स्रोतको दाबी छ।
शाह, कार्की र अधिकारी आ–आफ्ना शक्तिकेन्द्रमा सक्रिय रूपमा लबिङ गरिरहेका छन्। शाहलाई पूर्वआइजीपी धिरजप्रताप सिंहले समर्थन गरिरहेका छन् भने अधिकारीलाई प्रधानमन्त्रीसमेत निकट मानिने चर्चा छ। अर्कोतर्फ, कार्की संगठनभित्र बलियो प्रभाव राख्ने अधिकारीका रूपमा हेरिन्छन्।
खापुङले १९ गते आइजीपीको जिम्मेवारी सम्हालेपछि सीआईबी प्रमुख, काठमाडौं उपत्यका प्रहरी प्रमुखलगायतका पद रिक्त हुनेछन्। यी पदमा कसलाई जिम्मेवारी दिने भन्ने प्रश्न पनि भावी आइजीपी प्रतिस्पर्धासँग गाँसिएको छ। सिआइबी प्रमुखमा कार्की, शाह र अधिकारीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।
यसरी, प्रहरी नेतृत्वमा हुने आगामी नियुक्ति संगठनभित्रको शक्ति सन्तुलन मात्र होइन, सरकारको राजनीतिक इच्छाशक्तिले पनि निर्धारण गर्ने अनुमान गरिएको छ।



