
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बिदाई समारोह भोलि दिउँसो प्रहरी मुख्यालय, नक्सालमा विशेष कार्यक्रमसहित हुने भएको छ। भोलि मध्यरातदेखि कार्यकाल सकिन लागेका थापालाई दिउँसो आयोजित कार्यक्रममार्फत सम्मानपूर्वक बिदा गरिनेछ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले दिउँसो २ बजे हुने कार्यक्रममा हेडक्वार्टरमा कार्यरत सिपाहीदेखि माथिका सबै कर्मचारी र अन्य युनिटका प्रहरी वरिष्ठ उपरीक्षक तथा सोभन्दा माथिका अधिकृतलाई उपस्थित हुन सर्कुलर पठाएको छ। तर, प्रहरी अस्पतालका लागि अतिरिक्त महानिरीक्षक मात्र सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ।

बिदाई समारोहका लागि पोशाक १ नम्बरमा उपस्थित हुनुपर्ने उल्लेख गर्दै अधिकृत तहभन्दा मुनिका कर्मचारीहरूलाई १:२५ बजे, इन्स्पेक्टरलाई साढे १ बजे, डिएसपी र एसपीलाई १:३५ बजे, एसएसपीलाई १:४० बजे, डिआइजीहरूलाई पौने २ बजे र एआईजीहरूलाई १:५० बजे सभा हलमा प्रवेश गर्न उर्दी जारी गरिएको छ। हेडक्वार्टरमा कार्यरत जुनियर अधिकृत र जवानलाई ३०–३० जनाको संख्यामा मात्र समारोहमा सहभागी हुन पठाउन निर्देशन दिइएको छ।
आजै प्रशासन शाखाले सियुजी शाखालाई सबैलाई एसएमएसमार्फत् जानकारी गराउन निर्देशन पनि दिएको छ। बिदाई कार्यक्रममा महानिरीक्षक थापासँगै उनको ब्याचका एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पनि सम्मानपूर्वक बिदा गरिनेछ। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हद पुगेका कारण केही दिनअघि नै घर फर्किसकेका छन्।



