
सुरक्षा सरोकार — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति लामो समयदेखि राजनीतिक खिचातानी, रस्साकस्सि र विचौलियाको हस्तक्षेपले जटिल विषय बन्ने गरेको थियो । तर पछिल्लो पटक भएको ३२औं प्रहरी महानिरीक्षक नियुक्तिले यो परम्परा तोड्दै प्रहरी संगठनमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रहरी नेतृत्वमा पारदर्शिता, सुशासन र संस्थागत स्थायित्वप्रतिको गृह नेतृत्वको प्रतिबद्धता फेरि एकपटक प्रष्ट भएको छ ।

यसअघि ६ महिनाअघि दीपक थापालाई बरियताका आधारमा महानिरीक्षक नियुक्त गरेर गृहमन्त्री रमेश लेखकले देखाएको उदाहरणीय नेतृत्वलाई निरन्तरता दिँदै फेरि खापुङलाई नियुक्त गरिएको हो । वरिष्ठतालाई प्राथमिकता, योग्यतालाई कदर र संगठनलाई विवादमुक्त राख्ने लक्ष्यका साथ गरिएको यो नियुक्ति प्रहरी संगठनमा नयाँ ढङ्गले लिएको सकारात्मक कदमका रूपमा सराहना भइरहेको छ ।
गृहमन्त्री लेखकले सरुवा र बढुवासहितका संवेदनशील विषय पारदर्शी ढङ्गले गर्दै आएको कारण प्रहरीले कार्यक्षमतापूर्वक काम गर्ने वातावरण पाएको छ । सरुवादेखि बढुवासम्म कसैको चित्त दुख्ने अवस्था नभएको, अदालतसम्म विवाद नपुगेको र सबैको मनोबल उच्च भएको प्रहरी स्रोतले जनाएको छ ।
यसपटकको नियुक्तिले प्रहरी कर्मचारीलाई मात्र होइन, आम नागरिकमा पनि सकारात्मक सन्देश गएको छ । अब खापुङले आफ्नो कार्यकाल सुरु गर्नु अघि नै योजना बनाउन समय पाउने भएकाले संगठनलाई अझ गतिशील बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यसरी, राजनीतिक दबाब र बाह्य स्वार्थका दायराबाट बाहिर निस्केर, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै गरिएको प्रहरी महानिरीक्षक नियुक्ति गृह नेतृत्वको दूरदर्शी निर्णयका रूपमा मुलुकमा लामो समयसम्म स्मरणीय रहने देखिन्छ ।



