
काठमाडौं — बुधबार सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि टिकटकसम्म नेपाल प्रहरीका एक जवानको भिडियो व्यापक रूपमा भाइरल बनेको छ। धेरैले उक्त भिडियो सेयर गर्दै उनलाई “जिउँदो बहादुर सिपाही” भन्दै प्रशंसा गरेका छन्।
३७ सेकेन्ड लामो प्रहरीकै बर्दीमा खिचिएको भिडियोमा जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान माधवप्रसाद भुगाईले प्रहरी सेवाभित्रको बढुवा र सरुवामा हुने पावरकेन्द्रित प्रवृत्तिमाथि खुलेर प्रश्न उठाएका छन्।

भिडियोमा उनले भनेका छन्—जय नेपाल सत्य सुरक्षा सुरक्षणम् !
“यो नेपाल प्रहरीको जागिर के हो ? यत्तिका दुखः गर्ने अनि पावर हुनेले फ्याट्ट फ्याट्ट बढुवा हुने, फ्याट्ट फ्याट्ट जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको केही पनि नहुने ?”
उनले आफू नै परिचय दिँदै थपे—
“म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु। मैले चुस्तामै भिडियो बनाएको हुँ। मेरो जागिर खाने भए खाउ, तर यदि पावर हुनेले मात्रै जागिर खान पाउने हो भने पावर हुनेलाई नै खान दिनुहोस्। हामीजस्ता गरिब, दुखीको जागिर नहुने भए मलाई जागिर खानु छैन।”



