जनकपुर । मधेश प्रदेशमा प्रहरीकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको आरोप सार्वजनिक भएपछि ठूलो संख्यामा प्रहरीलाई जिम्मेवारीमुक्त गरिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हालसम्म १ सय १३ जना प्रहरीलाई कार्यक्षेत्रबाट हटाइएको छ।

जिम्मेवारी गुमाउनेमध्ये सादा पोसाकमा खटाइएका घुमुवा प्रहरीदेखि गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी समेटिएका छन्। प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार ती प्रहरीलाई कार्यरत स्थानबाट अन्यत्र सरुवा गरिएको हो।

“गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीलाई पहिचान गरी जिम्मेवारी हटाउने प्रक्रिया अझै जारी छ,” डिआइजी चतुर्वेदीले बताए।

सीमावर्ती नाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भन्सार कार्यालयका कर्मचारी खटाइने गरेका छन्। तर, प्रहरीद्वारा परिचालित घुमुवा मध्ये धेरैजसो तस्करसँग सिधा सम्पर्क राख्ने, असुली गर्ने र तस्करीलाई संरक्षण दिने कार्यमा लागेको आरोपले सुरक्षा निकायमै प्रश्न उठाएको हो।

आन्तरिक छानबिनपछि प्रदेश प्रहरी नेतृत्वले उक्त कारबाही अघि बढाएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय