
काठमाण्डौं—काठमाडौं उपत्यका देशको संघीय राजधानी भएकाले यहाँको शान्ति–सुव्यवस्था सदैव चुनौतीपूर्ण रहन्छ। यही चुनौतीलाई कसरी व्यावसायिक प्रहरी कमाण्डरले सफलतापूर्वक चिर्न सक्छ भन्ने उदाहरण हाल उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले प्रस्तुत गरेका छन्।
लागूऔषधविरुद्धको महाअभियान—

उनी जिम्मेवारी सम्हाल्नेबित्तिकै ‘लागूऔषधविरुद्धको महाअभियान’ सुरु गरेका छन्। पत्रकार, स्थानीय तह, कलाकार, खेलाडी, औषधि व्यवसायी लगायत समाजका सबै क्षेत्रलाई जोडेर सञ्चालन गरिएको यो अभियान प्रभावकारी बन्दै गएको छ। सप्लाइकर्ताविरुद्ध कठोर कारबाही गर्दा प्रहरीलाई सूचना दिने र मुद्दा दर्ता गर्ने दर बढेको तथ्याङ्कले देखाउँछ।
विपद् व्यवस्थापनमा तयारी
तामाङको कार्यकालमा आफ्नै स्रोत मात्र नभई संघ–संस्थाको सहयोगमा सात रबर बोट, १,३९१ लाइफ ज्याकेट, ७७४ अग्नि समन यन्त्र, २,११७ फ्लोरिसेन्स ज्याकेटसहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ। साथै २९ सामुदायिक सेवा केन्द्रमार्फत ३६१ स्वयंसेवक र ४८७ प्रहरीलाई विपद् उद्धार तालिम दिइएको छ।
त्रिवर्षीय कार्ययोजना ‘सुरक्षित काठमाडौं उपत्यका’
प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार ‘सुरक्षित काठमाडौं उपत्यका’ बनाउन १४ लक्ष्य, ८३ कार्यगत उद्देश्य र १९४ क्रियाकलापसहित त्रिवर्षीय कार्ययोजना लागू गरिएको छ। यसमा
- अपराध नियन्त्रण र अनुसन्धान सुदृढ बनाउने
- विपद् जोखिम न्यूनीकरण गर्ने
- सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुधार गर्ने
- अत्याधुनिक प्रविधि प्रयोग गर्ने
- समुदाय–प्रहरी साझेदारी सशक्त बनाउने
- पर्यटक प्रहरीलाई सुदृढ बनाउने
जस्ता लक्ष्य समेटिएका छन्।
यसैअनुसार साइबर अपराध निगरानीका लागि ‘साइबर पेट्रोल युनिट (CPU)’ स्थापना गरिएको छ भने जात्रा, मेला, पर्व, चाडपर्व सुरक्षित बनाउन अभिलेखीकरण प्रणाली सुरु गरिएको छ।
प्रगति र अपराध नियन्त्रण
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले औसत ९५.८० प्रतिशत कार्य प्रगति हासिल गरेको छ। बैंकिङ कसूर, ठगी, चोरी, लागूऔषध, आत्महत्या, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणीलगायत १० प्रमुख अपराधमा कारबाही गरिएको छ। दैनिक औसत १९ सडक दुर्घटनामध्ये प्रहरीले तत्काल उद्धार र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
समुदायको विश्वासमा वृद्धि
लागूऔषध नियन्त्रण, नदी फोहोर निषेध अभियान, युवासँग प्रहरी अभियानजस्ता गतिविधिले ‘प्रहरी मेरो साथी’ भन्ने विश्वास उपत्यकावासीमा बढाएको छ। अपराधविरुद्ध प्रहरीलाई सूचना दिन नागरिक तयार हुन थालेका छन्।
‘हट सीट’ को नेतृत्वमा सफल कमाण्डर
संघीय राजधानीको भीडभाड, भीआईपी आवागमन, आन्दोलन र अपराध गतिविधिले उपत्यका प्रहरी प्रमुखलाई ‘हट सीट’ बनाउँछ। तर, जहाँ जिम्मेवारी पाए पनि अब्बल सावित हुँदै आएका एआइजी टेकबहादुर तामाङले यही ‘हट सीट’ मा बसेर व्यावसायिक प्रहरी कमाण्डरले जस्तोसुकै चुनौतीलाई पनि सफलतापूर्वक व्यवस्थापन गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।



