
चितवन — पछिल्ला वर्षहरूमा चितवन जिल्लामा बालबालिकाद्वारा गरिने अपराधमा उल्लेख्य वृद्धि देखिएको छ। सामाजिक, आर्थिक र पारिवारिक समस्याहरूका कारण बालबालिका अपराधको मार्गतिर आकर्षित भइरहेको प्रहरीको मूल्यांकन छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार गत एक वर्षमा विभिन्न अपराधमा संलग्न १० देखि १८ वर्ष उमेर समूहका ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू आठ किसिमका मुद्दामा संलग्न रहेको खुलेको छ।

पक्राउ परेकामध्ये २६ जना सार्वजनिक कसूर/अभद्र व्यवहार, २२ जना चोरी, २१ जना लागुऔषध, सात जना ज्यानमार्ने उद्योग, पाँच जना जबरजस्ती करणी, दुई जना जबरजस्ती करणी उद्योग, दुई जना सवारी ज्यान मुद्दा र एक जना साइबर अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।
एसपी पुरीका अनुसार पछिल्लो समय चोरी र लागुऔषध कारोबारमा बालबालिकाको प्रयोग बढेको छ। ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्,’ उनले बताए। लागुऔषध ओसारपोसार र चोरीका घटनामा बालबालिकालाई प्रयोग गर्ने प्रवृत्ति बढेको छ। कतिपय घटनामा चोरी गर्न लगाउने वयस्कहरूलाई समेत पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी चोरी, लागुऔषध दुरुपयोग, सामूहिक झगडा र सवारीसाधन चोरीमा बालबालिकाको संलग्नता बढी देखिन्छ। उचित मार्गदर्शन, शिक्षा र संरक्षणको अभावमा उनीहरू यस्ता गतिविधिमा फस्ने गरेको प्रहरीको भनाइ छ।
अभिभावकको लापरबाही, विद्यालय ड्रपआउट, समाजमा देखिने हिंसा, बेरोजगारी र सामाजिक सञ्जालको दुरुपयोगले पनि बालअपराध बढाउन योगदान पुर्याएको छ।
विशेषज्ञहरूका अनुसार बालअपराध न्यूनीकरणका लागि विद्यालय, परिवार र समाजबीच समन्वय आवश्यक छ। बालमैत्री शिक्षा, मानसिक परामर्श, चेतनामूलक कार्यक्रम र सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा ठोस कदम चाल्न जरुरी रहेको उनीहरूको सुझाव छ।
समयमै प्रभावकारी पहल नभए चितवनमा बालअपराध गम्भीर सामाजिक समस्यामा परिणत हुने चेतावनी समेत दिइएको छ।



