
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।
उनका अनुसार हाल नेपाल प्रहरीमा १२ प्रतिशतभन्दा बढी महिला रहेका छन् । प्रहरी संगठनमा महिला प्रतिस्पर्धा उच्च रहेको बताउँदै उनले भने, “हाल ९ हजार २७८ महिला प्रहरी भए पनि यसलाई पर्याप्त भन्न सकिँदैन, परिणाममा २० प्रतिशत पुर्याउने गरी योजना बनाइनेछ ।”

आईजीपी थापाले सम्मेलनलाई महिला प्रहरीको सशक्तीकरण, ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक बन्न सक्ने अवसरका रूपमा लिने आवश्यकता औंल्याए ।
सम्मेलनमा २००८ सालमा जवानमा भर्ना भई ३१ वर्ष सेवा गरेर असई पदमा अवकाश पाएकी चैतमाया डंगोललाई सम्मान गरिएको छ । डंगोलको अवकाशकालीन पद अहिलेको डीआईजी बराबर रहेको आईजीपी थापाले स्मरण गराए ।



