
कैलाली । कैलाली कारागारमा भएको झडप घटनाको छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनबीचको मतभेदलाई मुख्य कारण ठहर गरेको छ ।
छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार घटनास्थलको अवलोकन, घाइते कैदीबन्दी तथा सुरक्षाकर्मीहरूसँगको कुराकानीपछि ‘ए ब्लक’ र ‘बी ब्लक’बीचको आन्तरिक प्रशासनिक मतभेदका कारण झडप भएको देखिएको हो ।

उनले भने, “सिसिटिभी फुटेज स्पष्ट नदेखिएको, घाइतेले भनेका व्यक्तिहरूले घटनामा संलग्नता अस्वीकार गरेको र कुराकानीका आधारले मात्र पुष्टि गर्न नसकिने भएकाले विशेषज्ञसहितको उच्चस्तरीय छानबिन समिति आवश्यक देखिन्छ ।”
समितिलाई १० दिनको समय दिइएकोमा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ४१ कैदी डिस्चार्ज भए पनि धेरै कैदी अझै अस्पतालमै बसिरहेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।
घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाई कृष्णप्रसाद लम्साललाई खटाएको छ । त्यस्तै, कारागार शाखा प्रमुखमा पनि नयाँ अधिकारी नियुक्त गरिएको छ ।
१५० कैदी अटाउने क्षमता भएको कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।



