
सुरक्षा सरोकार । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापासहित तीन अतिरिक्त महानिरीक्षक (एआइजी) आगामी भदौ दोस्रो सातादेखि अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी ऐनअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेसँगै उनीहरू भदौ १८ गतेबाट सेवानिवृत्त हुने भएका हुन्।
संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक, २०८१ प्रक्रियामा अड्किएपछि पुरानै ऐन लागू हुने भएसँगै सेवाअवधि थप्ने सम्भावना टुटेको छ। यससँगै करिब ७५ हजार संख्याको प्रहरी संगठनको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न चासोको विषय बनेको छ।

अवकाशमा जाने अधिकारीहरू —
आइजिपी थापासहित एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी भदौ १८ मा अवकाश हुँदैछन्। अर्का एआइजी कृष्णहरि शर्मा पोखरेल भने उमेरहद पुगेकाले भदौ १४ गतेदेखि नै अवकाशमा जानेछन्।
यी उच्च अधिकारीहरूको अवकाशपछि डिआइजी पदधारीहरू एआइजीमा बढुवा हुनेछन् भने असोजसम्म पाँच एसएसपीलाई डिआइजीमा बढुवा हुने अवसर खुल्नेछ।
खापुङ सर्वाधिक अगाडि—
आइजिपी थापासँगै इन्स्पेक्टरमा प्रवेश गरेका एआइजी चन्द्रकुवेर खापुङ वरिष्ठताका आधारमा ३२औं प्रहरी महानिरीक्षक बन्ने लगभग निश्चित देखिएका छन्। हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक रहेका खापुङ प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन्। तर, उनी कात्तिक २६ गते अनिवार्य अवकाशमा जाने भएकाले करिब दुई महिना मात्र प्रहरी नेतृत्वमा रहनेछन्।
यद्यपि, सरकारभित्र वैकल्पिक नामबारे छलफल भए पनि उच्च स्रोतका अनुसार खापुङकै नाममा राजनीतिक सहमति बन्ने सम्भावना बढी छ।
प्रतिस्पर्धीहरूको दौड—
खापुङलाई एकल प्रतिस्पर्धी नबनाउन एआइजी सिद्धिविक्रम शाह, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी पनि शक्तिकेन्द्रमार्फत दाबेदारी अघि बढाइरहेका छन्। नियमावलीअनुसार एआइजी नभएको अवस्थामा मात्र डिआइजीबाट आइजिपी बनाउन सकिने भएकाले हाल प्रतिस्पर्धा एआइजी स्तरमै सीमित छ।
एआईजी बढुवामा पनि तीव्र प्रतिस्पर्धा—
भदौमा रिक्त हुने तीन एआइजीका लागि एउटै ब्याचका चार डिआइजी — सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक — प्रमुख दाबेदार छन्।
त्यस्तै, डिआइजी ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन्।
आगामी असोजमा डिआइजीमा पाँच सिट रिक्त हुँदा १२ जना एसएसपीबीच प्रतिस्पर्धा हुने भएको छ। यसमा शारदाप्रसाद चौधरीसहित २०८० वैशाख २४ गते बढुवा भएका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, वसन्त रजौरे र रमेश बस्नेत दाबेदार छन्।
आगामी भदौदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन निश्चित छ। तर खापुङको छोटो कार्यकाल र त्यसपछिको उत्तराधिकारीबारे राजनीतिक तहमा हुने सहमति नै संगठनको भविष्य नेतृत्व तय गर्ने निर्णायक कारक देखिएको छ।



