
नेपालगञ्ज ।लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (ASI) नविन कुमार शाहीलाई २०८२ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरिएको छ।
शाहीले आफ्नो जिम्मेवारी व्यावसायिकता र इमान्दारीपूर्वक निर्वाह गर्दै उल्लेखनीय सफलता हात पारेका छन्। उनका नेतृत्वमा विभिन्न मितिमा ७२० ग्राम ६२ मिलिग्राम खैरो हेरोइन, ११३ केजी ६०४ ग्राम गाँजा, १९ केजी ३२५ ग्राम अफिम र ६०० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको ब्यूरोले जनाएको छ।

त्यसैगरी, उनले लागुऔषध कारोबार तथा सेवनमा संलग्न २२ जनालाई नियन्त्रणमा लिन सफल भएका छन्।
प्रहरी संगठनको मूल्य, मान्यता र आदेशको पालना गर्दै उच्च व्यावसायिक आचरणसहित कर्तव्य पालनामा देखाएको समर्पणलाई कदर गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको ब्यूरोले जनाएको छ।



