जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति र सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवकको रूपमा काम गर्न निर्देशन दिएका छन्। उनले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटन गर्दै आयोजित समारोहमा यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले हाकिमको भूमिकामा होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने छ। उनले यस क्रममा राणा शासन तथा पञ्चायती व्यवस्थाको समयमा झुटो आरोप र यातना दिने काम नहुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो। अहिले केही तत्वहरूले अराजकता फैलाउने तथा आफूलाई नयाँ शक्तिको भ्रम दिने कार्य गरिरहेका छन्, त्यसबाट सतर्क रहनुपर्छ।” उनले झुटो बोल्ने तत्वलाई समाज र राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको र नेपाल प्रहरीले आफ्नो योग्यता र दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक सेवा गर्नुपर्ने बताए। उनले बढ्दो अपराध, चोरी, डकैती, लागुऔषधको प्रयोग, सीमा क्षेत्रमा हुने तस्करी र राजस्व चुहावट रोक्न प्रहरी सङ्गठनले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्ति र सुरक्षामा समस्या भएको गुनासो गरे। उनले प्रदेशको विकासका लागि ठोस योजना र चुरेको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग माग गरे।

नेपाल प्रहरीका प्रमुख एवं महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ कार्य गरिरहेको बताए। त्यसैगरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रदेशमा १० हजार दरबन्दी मध्ये करिब ९ हजार प्रहरी कर्मचारी कार्यरत रहेको र ६२ लाख जनसङ्ख्याका लागि करिब ३७ हजार ४०० प्रहरी आवश्यक रहेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको मधेस प्रदेश प्रहरी भवनको पनि निरीक्षण गरेका थिए र प्रदेश सरकारले प्रहरीलाई समयसापेक्ष भौतिक सुविधा उपलब्ध गराएकोमा खुसी व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय