
धनगढी । गृह मन्त्रालयले खटाएका कृष्णप्रसाद लम्सालले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा जिम्मेवारी सम्हालेका छन्। बिहीबार कैलाली आइपुगेका लम्सालले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्दै काम थालेका हुन्।
पदभार ग्रहणको पहिलो दिन उनले गत शुक्रबार कैलाली कारागारमा भएको हिंसात्मक घटना र त्यसपछि सिर्जित अवस्थाबारे विस्तृत ब्रीफिङ लिएका छन्। यसका लागि उनले जिल्ला सुरक्षा समितिको बैठक बोलाएर चारै सुरक्षा निकायका प्रमुखहरूबाट घटनासम्बन्धी जानकारी लिएका थिए।

शुक्रबार नै लम्सालले कारागारमा भएको घटनामा घाइते भएका कैदीबन्दीलाई सेती प्रादेशिक अस्पताल र मातहतको कोरोना अस्पताल पुगेर भेटेका छन्। साथै उनले कारागारको समेत स्थल निरीक्षण गरेका छन्।
प्रमुख जिल्ला अधिकारी लम्सालले घटनाबारे गहिरो रूपमा अध्ययन गरिसकेपछि मात्र थप विवरण सार्वजनिक गर्ने बताएका छन्। गत शुक्रबार राति कैलाली कारागारको ए ब्लकमा रहेका कैदीबन्दीले भित्तामा प्वाल पारेर ब्लक बी मा आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए।
उक्त घटनामा गम्भीर लापरवाही भएको भन्दै गृह प्रशासनले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई मन्त्रालय तानेर उनको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी रहेका कृष्णप्रसाद लम्साललाई खटाएको हो।



