
काठमाडौं । प्रहरी प्रधान कार्यालयद्वारा मंगलबार गरिएको सरुवामा जान एक डिएसपीले अस्वीकार गरेपछि उनको स्थानमा अर्का डिएसपी खटाइएका छन्।
काठमाडौं उपत्यका प्रहरीको छानबिन शाखामा दरबन्दी भएका डिएसपी प्रल्हाद कार्कीलाई आकर्षक मानिने प्रहरी बृत्त सिंहदरबार सरुवा गरिएको थियो। तर अत्यधिक तनावपूर्ण मानिने उक्त बृत्तको जिम्मेवारी उनले अस्वीकार गरेका हुन्।

२०६४ सालमा इन्स्पेक्टर दर्जामा भर्ना भएका कार्कीका अधिकांश ब्याचमेट हाल जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। उनले बुधबार नै प्रहरी प्रधान कार्यालयलाई निवेदन दिँदै आफू उक्त सरुवामा जान असमर्थ रहेको जानकारी दिएका थिए।
उनको स्थानमा २०७० सालमा इन्स्पेक्टर भई २०८० चैतमा डिएसपी बढुवा भएका जनार्दन घिमिरेलाई काजमा खटाइएको छ। घिमिरेले इन्स्पेक्टर हुँदा बनेपास्थित जिल्ला ट्राफिक, काभ्रेको कमाण्ड गरेका थिए।
यसअघि सिंहदरबार बृत्तका डिएसपी गंगाप्रसाद पौडेल ११ महिनामै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा काजमा गएका थिए। बृत्तको कार्यक्षेत्रमा बागबजार, कालिकास्थान, अनामनगर, बबरमहल, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर पर्दछन्।
दिनहुँ सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्मको उच्च आवतजावत, जुलुस, धर्ना र विभिन्न किसिमका हड्ताल हुने भएकाले यो बृत्तमा प्रहरी ड्युटी चुनौतीपूर्ण मानिन्छ।



