
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटाव हिंसात्मक रुप लिएपछि प्रहरी प्रशासनले गोली चलाउने अनुमति मागेको तर प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले आदेश नदिएका कारण ठूलो क्षति भएको खुलेको छ।
शुक्रबार राति करिब १२:५५ बजे ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामा प्वाल पारेर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गरेका थिए। घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको र ४८ जना कैदीबन्दी घाइते भएका थिए।

घटना शुरु भएपछि कारागार सुरक्षाको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्र चन्दले तत्काल प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनर सिंह राणालाई रिपोर्टिङ गरेका थिए। एसपी राणाले स्थिती नियन्त्रण गर्न गोली चलाउने आवश्यकता भएको भन्दै तत्काल प्रजिअ गोगनबहादुर हमालसँग अनुमति मागे तर हमालले आदेश दिन अस्वीकार गरेका थिए।
उच्च सुरक्षा स्रोतका अनुसार प्रजिअ हमाललाई राति दुई पटकसम्म हवाई फायरको आदेश मागिएको थियो। “कारागारभित्र प्रत्यक्ष गोली चलाउने माग थिएन, तर कम्तीमा हवाई फायर गर्दा स्थिती साम्य पार्न सकिन्थ्यो,” स्रोतले भन्यो, “तर आदेश नदिँदा कारागार रणभूमिमा परिणत भयो।”
प्रजिअ हमालमाथि गोली चलाउने आदेश नदिएको, कैदीबन्दीबीच हुने झडपलाई गम्भीरतापूर्वक नलिएको, र कैदीबन्दीको स्थानान्तरणमा पारदर्शिता नगरेको आरोप लागेपछि गृह मन्त्रालयले उनलाई तत्काल तानेको हो। उनको ठाउँमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई नियुक्त गरिएको छ।
२७ कैदीबन्दी डिस्चार्ज, तीन जनाको सरुवा
घटनामा घाइते ४८ कैदीबन्दीमध्ये २७ जनालाई बुधबार साँझ सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालले डिस्चार्ज गरे पनि तत्काल अस्पतालमै राखिएको छ। तीन जना कैदीबन्दीलाई भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ।
डीएसपी राजकुमार सिंहका अनुसार घाइते कैदीबन्दीलाई तुरुन्तै कारागार फर्काउँदा पुनः झडपको खतरा भएकाले तत्काल नलगिएको हो। अधिकांश घाइतेका आफन्तहरूले अन्यत्र स्थानान्तरणको माग गरिरहेका छन्, जसको विषयमा स्थानीय प्रशासन छलफलमा रहेको छ।



