काठमाडौं । विद्यमान प्रहरी ऐनअनुसार वर्तमान आईजीपी दीपक थापा १८ भदौ २०८२ मा अनिवार्य अवकाशमा जाँदैछन्। उनीपछि ३२औं आईजीपीका रूपमा चन्द्रकुवेर खापुङ एकल प्रतिस्पर्धामा छन्। हाल केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का निर्देशक रहेका खापुङ इमानदार, निष्पक्ष र परिणाममुखी प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।

१९ भदौ २०५१ मा इन्स्पेक्टरमा भर्ना भएका थापा र खापुङ एउटै आवेदनमा फारम भरिए पनि तीन लटमा नियुक्ति भएका थिए। पहिलो लटका बसन्तबहादुर कुँवर र दोस्रो लटका थापा अवकाशमा गइसकेका छन्। तेस्रो लटका खापुङ आगामी २६ कात्तिकमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्।

खापुङको सम्भावित कार्यकाल दोस्रो सबैभन्दा छोटो

नयाँ ऐन जारी नभएको वर्तमान अवस्थामा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण एआइजी चन्द्रकुवेर खापुङ आगामी २६ कात्तिक २०८२ राति १२ बजे अनिवार्य अवकाशमा जानेछन्। यसरी उनी करिब २ महिना ९ दिन मात्र ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) रहने सम्भावना छ।

यसअघि प्रहरी इतिहासमा सबैभन्दा छोटो कार्यकाल तोरण शमशेर जबराको रहेको थियो— २०१२ चैत २८ देखि चैत ३१ सम्म। अच्युतकृष्ण खरेल भने दुई कार्यकालमा आईजीपी बनेका थिए— पहिलोपटक २०५३ फागुनदेखि चैतसम्म ३६ दिनका लागि र दोस्रोपटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म।

खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए। त्यसअघि एसएसपीका रूपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका उनले इमानदार र विवादरहित अधिकारीको छवि कायम गरेका छन्।

विशेष कुरा के छ भने, उनी एउटै आवेदनमा फारम भरेका तीन जना इन्स्पेक्टरमध्ये तेस्रो व्यक्ति हुनेछन्, जो आईजीपीसम्म पुगेका छन्। नियुक्ति फरक–फरक मितिमा भए पनि एउटै समूहबाट तीन जना आईजीपी बन्ने दुर्लभ संयोग यो टोलीसँग जोडिएको छ।

खापुङ भन्छन्, “म आफूलाई भाग्यमानी ठान्छु। इमानदारीका साथ विवादबाट टाढा रहेर प्रहरी निरीक्षकदेखि यहाँसम्मको यात्रा पुरा गरें।”

यदि नयाँ प्रहरी ऐन आएर ३० वर्षे सेवा अवधि हटे पनि खापुङ प्रतिस्पर्धामा रहन सक्नेछन्। ड्राफ्ट ऐनले ६ महिना सेवा अवधि थप्ने व्यवस्था राखेकाले, ऐन जारी भए पनि आफ्नो प्रतिस्पर्धामा असर नपर्ने उनको भनाइ छ।

प्रहरी नियमावलीअनुसार सबै एआइजीहरू आईजीपीका प्रतिस्पर्धी मानिने भएकाले अन्य एआइजीहरू पनि ३२औं आईजीपीको दौडमा रहेका छन्।

झन्डै दुई महिनाको कार्यकाल भए पनि, उनको नेतृत्वले पारदर्शिता, अनुशासन र जनविश्वासमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ। खापुङ विवादरहित रहँदै संवेदनशील जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन्, जसका कारण सहकर्मी र अधीनस्थहरूमा उनी प्रेरणादायी मानिन्छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय