
काठमाडौँ । यातायात व्यवस्थापन सुधार र ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको छ ।
‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि विधेयक संसद्मा पेस गरिने छ ।

मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थका अनुसार सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाउने र बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन कम गर्ने लक्ष्यका साथ नयाँ ऐन ल्याउन लागिएको हो ।
नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ प्रकारका गल्तीमा तत्काल कारबाही हुने व्यवस्था प्रस्ताव गरिएको छ । साथै, पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान समावेश गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपैयाँ जरिवाना गरिने प्रस्ताव गरिएको छ ।
पन्थका अनुसार ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिवाना रकम दुवै बढाउन लागिएको हो ।



